
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य (सांसद) चुन्नका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चुनिने जनप्रतिनिधिहरुले मुख्य रुपमा सरकार निर्माण गर्ने र कानून बनाउने काम गर्नेछन् ।
प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानूपातिक पद्धति अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् ।
प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् ।
जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।२०६१ साल मंसिर ३ गतेसम्म जन्मेका अर्थात आजको दिनसम्म १८ वर्ष पुरा भएका र नागरिकताको प्रमाणपत्र लिएर मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यो निर्वाचनमा भाग लिन पाउनेछन् । देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि भाग लिन जाँदा मतदाता परिचयपत्र लैजानुपर्नेछ । परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, लालपूर्ण, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, पासपोर्ट(राहदानी)का आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ । ‘निर्वाचन आयोगले शनिबार दिउँसो विशेष पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।
निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् ।
मतदानका आफ्नो घरसम्म पुग्न र मतदान गरेर काममा फर्किन सर्वसाधारणलाई सहज होस् भनेर आयोगले शुक्रबारदेखि मतदानको भोलिपल्ट सोमबारसम्म सार्वजनिक विदा दिएको छ ।
बल प्रयोग गरी वा डर, त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने जो कोहीलाई तत्काल कारबाही गर्ने आयोगले चेतावनी दिएको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।