काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज प्रचारप्रसार गर्ने अन्तिम दिन हो भने आज रातीदेखि स्थिर समय सुरु हुँदैछ ।
आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ ।
यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रबाट ३ सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, चुनावको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेरलगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको बताए ।
यसैबीच, निर्वाचनका लागि सुरक्षा रणनीति पनि तयार भइसकेको छ । जसअनुसार अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्तीको पनि व्यवस्था गरिएको छ ।