ट्वीटरमा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज

काठमाडौं । ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए ।

ट्वीटरले हालै आफ्नो प्लाटर्फममा ब्लु टिक फिचरका लागि प्रयोगकर्ताबाट ८ अमेरिकी डलर असुली गर्ने निर्णय गरेको थियो । उक्त शुल्कको बदलामा कम्पनीले प्रयोगकर्तालाई विभिन्न एक्सक्लूसिभ फिचर उपलब्ध गराउने पनि बताएका थियो । तर, पैसा तिरेर ब्लु टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग भएका समाचार आउन थालेपछि शुल्क लिने नियम खारेज भएको हो । एजेन्सी

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस