तुलसीपुरमा चोरी गरेको गहना र नगदसहित एक पक्राउ

तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले चोरी भएको सुनका गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका बाँकेको खजुरा गाउँपालिका वडा नं. २ निवासी ४२ वर्षीय राजेन्द्र सुनार रहेका छन् ।

सुनारलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरा स्थित कृष्ण दमाईको घरमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा शनिवार बेलुका ७ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । शंकास्पद रुपमा रहेका सुनारलाई खान तलासी गर्दा उनको साथ रहेको पहेलो रङको झोलामा लुकाई राखेको सुनका गहना र नगद ४४ हजार ३०१ रुपैया बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रवत केसीले जानकारी दिए ।

सुनारले उक्त गहना र नगद दैलेख नगरपालिका वडा नं. ८ हाल नेपालगञ्जको पुष्पलाल चोक बस्ने राधा भण्डारीले सञ्चालन गरेको दुल्लु दरवार होटलबाट चोरी गरेर ल्याएको प्रहरीलनई वयान दिएका छन् ।

प्रहरीले सुनारबाट बरामद गरेका गहनाहरुमा हरियो पोते सहितको छड्के तिलहरी १ थान, रातो पोते सहितको तिलहरी १ थान, सिक्रि १ थान, चुरा १ थान, बाला २ थान, चन्द्रमा १ थान, किलिप २ थान, रातो पोतेसहितको सानो मंगलसुत्र १ थान, कालो पोते सहितको ईण्डियन मंगलसुत्र १ थान, औठी १ थान, कालो पोतेमा सानो माला १ थान, औठी १ थान, पाउजु २ थान, नेपाली र भारतीय रुपैया गरी जम्मा रुपैया ४४ हजार ३०१ नगद रहेको छ।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस