सबै क्षेत्रमा सहजै जित्ने माहोल बनेको छः नेताहरु

हेमन्तपुर। लोकतान्त्रिक बाम गठबन्धनका नेताहरुले दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा र दुबै प्रदेशसभा निर्वाचन जित्ने वातावरण बनेको बताएका छन् ।

दाङ क्षेत्र नम्बर २(२) अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६, १७, १८ र १९ को हेमन्तपुरमा आयोजित सभलाई सम्बोधन गर्दै उनीहरुले आफूहरु धेरै मतान्तरले चुनाव जित्ने अवस्थामा पुगेको बताए ।

प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले चुनावी माहोल जितेको अवस्थामा पुगेको बताउनुभयो । उहाँले यही क्षेत्रबाट २०५६ सालको निर्वाचनमा एमाले नेता शंकर पोख्रेललाई पराजित गर्नुभएको थियो । विगतका अनुभव सुनाउँदै उहाँले त्यतिबेलाको भन्दा अहिले राम्रो माहोल बनेको बताउनुभयो । ‘प्रजातान्त्रिक आन्दोलनको अगुवा नेपाली कांग्रेस र पछिल्लो राजनीतिक सामाजिक जागरणको अगुवाई गरेको माओवादी मिलेर चुनाव लड्नु आफैमा जितको आधार हो’– उहाँले भन्नुभयो– ‘गत स्थानीय निर्वाचनमा केही समस्या देखिएकाले यसपटक पनि के हुने हो भन्ने सुरुमा आशंका रहे पनि अब फराकिलो मतान्तरणले जित्ने आधार बनेको छ ।’
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं केन्द्रीय निर्वाचन आयोग प्रमुख कुवेर ओलीले संविधान, लोकतन्त्र र विकास निर्माणका लागि आफूहरुको गठबन्धन भएको भन्दै दाङका सबै क्षेत्रमा चुनाव जित्ने माहोल बनेको बताउनुभयो । माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्यले आफूहरु सानदाररुपमा चुनाव जित्ने अवस्थामा रहेको बताउनुभयो । ‘स्थानीय निर्वाचनमा ठूलो मत बदर हुँदा पराजित हुनुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘त्यसै पनि हाम्रो गठबन्धनको मत बढी नै छ तर अहिले हरेक वडामा स्थानीय तहको भन्दा दरिलो एकता कायम भएको छ र यो निर्वाचन क्षेत्रका २७ वटै वडामा स्थानीय तहको भन्दा धेरै मत बढेर आउने वातावरण बनेको छ ।’
कांग्रेस नेता एवं राष्ट्रियसभा सचेतक अनिता देवकोटाले गठबन्धनले चुनाव जितिसकेको बताउनुभयो । गठबन्धनको सम्मानजनक क्षेत्र विभाजन, उम्मेदवारको चयन र गठबन्धन दलहरुको एकता तथा सम्बद्ध दलभित्र देखिएको उत्साह नै जीतको आधार भएको उल्लेख गर्दै उहाँले अहिले बढिरहेको माहोलले जीत थप सुनिश्चित भएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले बिपक्षीहरुले झुटको पुलिन्दा बिछ्याएर चुनाव जित्ने सपना देखेको भन्दै झुट र बेइमानीको पुलिन्दा च्यातेर दाङका सबै क्षेत्रमा गठबन्धनले चुनाव जित्ने बताउनुभयो । घोराही–तुलसीपुरमा मोनो रेलको सपना बाँडेको एमालेले सडक चौडा बनाउने जिम्मा समेत नेताकै छोरालाई दिएर हिलो र धुलोको उपहार दिएको भन्दै मीठा चुनावी नारा अब दाङबासीलाई स्वीकार्य नहुने बताउनुभयो ।
उम्मेदवारका प्रतिबद्धता– जनताको सेवाभन्दा दायाँबायाँ गर्ने छैनौं
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्माले आफू जनताको बीचमा पाँच बर्ष सेवा गर्न आएको उल्लेख गर्दै निरन्तर जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘चुनावको बेलामा रेल, पानीजहाजजस्ता ठूलाठूला सपना देखाउने तर चुनाव जितेर गएपछि जनताको बीचमा नआउने अवस्थाबाट म टाढा छु’– उहाँले भन्नुभयो– ‘तपाइँकै छोरीबुहारी हुँ, तपाइँसँगै बसेर पाँच बर्ष तपाइँकै सेवामा समर्पित हुनेछु ।’
दाङ क्षेत्र नं २ (२ं) का प्रदेश सभा सदस्यका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले उम्मेदवारका बारेमा बुझेर मात्र मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । ‘तपाईंले मतदान गर्दा सोचेर, बुझेर, उम्मेदवारलाई चिनेर मात्र मतदान गर्नुहोला । निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारका बारेमा बुझ्नुहोस्, उसको इतिहास हेर्नुहोस्, उसले काम गर्न सक्छ या सक्दैन बुझ्नुहोस्, उम्मेदवारले गर्न सक्छ जस्तो लाग्छ मतदान गर्नुहोस्, लाग्दैन नगर्नुहोस्’– उहाँले भन्नुभयो– ‘पटक पटक शक्तिमा रहनेले के गरे, जनताका हित र पक्षमा कति काम गरे अहिले मूल्यांकन गर्नुहोस्, मत खेर नफाल्नुहोस् । हामीले एक छाक तरकारी किन्दा छानेर किन्छौँ भने जनप्रतिनिधि चुन्दा झनै छान्नुपर्छ । झुठ बोलेर, झुठको खेती गर्न पल्केका, जनतालाई भोट बैंक मात्र सम्झनेलाई लोप्पा खुवाउनुहोस्, विकास र समृद्धिका पक्षमा मतदान गर्नुहोस् ।’

संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २(२)का संयोजक तथा २(२)का सभाति नेपाली कांग्रेस अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेताहरु बुद्धिराम भण्डारी, भीमप्रकाश खड्का, सुरेश हमाल, बीरेन्द्र खड्का, एकीकृत समाजवादीका नेता सारदा स्वर्णकार, राजमो नेता गणेश आचार्यलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक समूहरुले नाचगान प्रस्तुत गरेका थिए । कार्यक्रममा एमाले परित्याग गरेर ७५ जना माओवादी केन्द्रमा र २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रम सञ्चालन माओवादी केन्द्रका नेता तुलसी डाँगी ‘मिलन’ले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस