
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आइतबारदेखि डिजिटल अपांगता परिचयपत्र वितरण सुरु गरेको छ । नगरप्रमुख टीकाराम खड्काले दुर्गा शर्मालाई अपांगता परिचय पत्र प्रदान गरेर सुरु गरेका हुन् । अपांगता परिचयपत्र वितरणसंगै प्रत्येकको विवरण प्रविधिमा जोडिएको छ ।
सोमबार मात्रै ‘ख’ बर्गका आठ जना अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका महिला विकास तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले पालिकाभित्र रहेका १३ सय अपांगता भएका व्यक्तिहरुको डिजिटल परिचय पत्र छपाईको अन्तिम चरणमा पुगेकाले यसै महिनाभित्रै सबैलाई वितरण गरिने बताइन् ।
उनले वडाबाटै डिजिटल परिचय पत्र वितरणको व्यवस्थापन गरिने बताइन् । अपांगता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यविधि २०७५ अनुसार परिचय पत्र वितरण गरिएको हो । कार्यगत सीमितताका आधारमा चार प्रकारको अपांगता परिचय पत्रको व्यवस्थापन गरिएको छ ।
परिचय पत्र प्राप्त गरेपछि शारीरिक अपांगता भएका हुमकान्त कँडेलले अब आफ्नो परिचय पत्र थप सुरक्षित हुने बताए । परिचय पत्र वितरण गर्दै नगरप्रमुख टीकाराम खड्काले नयाँ प्रशासनिक भवनमा अपांगमैत्री बनाइने बताए । उनले निर्माण व्यवसायीसँग समन्वय गर्दै तत्काल लिफ्टको व्यवस्थापन गरिने बताए ।