
बुटवल । आगामी मंसिर ४ गते हुने निर्वाचन पश्चात् नेपाली काँग्रेसकै प्रधानमन्त्री हुने नेपाली काँग्रेसका प्रवक्ता डा-प्रकाशशरण महतले वताएका छन् ।
बुधवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै प्रवक्ता डा-महतले तत्कालिन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई जनताले मुल्यांकन गर्ने भन्दै काँग्रेसकै प्रधानमन्त्री हुने जिकिर गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आग्रह गरेका छन् ।
प्रवक्ता डा.महतले निर्वाचनपछि काँग्रेसकै प्रधानमन्त्री शेर बहादुर देउवा हुने बताउँदै, निर्वाचन पश्चात् सवैभन्दा धेरै सिट नेपाली काँग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतले देउवा नै प्रधानमन्त्री हुने उल्लेख गरे । १६५ सिट मध्ये ९१ सिटमा नेपाली काँग्रेसका उम्मेदवार भएकोले अन्य पार्टी भन्दा धेरै मत आफ्नो पार्टीको आउने ठोकुवा गरे ।
उनले भने, पाँच बर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरु जनतालाई झुक्याउने भन्दा अरु नयाँ केही छैन । ५ बर्षअघि समेटिएका पानी जहाज, पाईप लाईनबाट घरघरमा ग्याँस र रेल सञ्चालन जस्ता कुराहरु कार्यान्वयन भन्दा पनि फगत मात्रै पुष्टि भएको वताए ।
एमाले र नेकपा माओवादी केन्द्र विच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको जनाए ।
नेपाली काँग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ ? एमालेले जारी सञ्चालन गर्ने र काँग्रेसले ल्याउने रेल एउटै होकी फरक हो भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा प्रवक्ता डा.महतले भने, हामी चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन् । हामी ऋण काढेर रेलमा लगानी गर्नै पक्षमा छैनौं ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले आगामी दिनमा संघिय निर्वाचनमा काँग्रेसका महिला नेतृहरुलाई प्रत्यक्षमा उठाउने गरी अगाडि बढ्ने जनाईन् ।