नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते

कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सोमबार दुर्घटना हुँदा सुस्ता गाउँपालिका –४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको ज्यान गएको हो ।

दुर्घटनामा परि २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सोहित सहानी घाइते भएका छन् । घाइतेहरूको शहीद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डे बताए ।

डुङ्गा पल्टिएर पाँच जना डुबेपछि उद्धार गरी चौपत्ता अस्पताल पुर्याइएकोमा तीन जनाको उपचारका क्रममा सोमवार राति ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस