राजपुर / दाङको राजपुर गाउँपालिका–६ भौवा नाकाका टङ्क बहादुर पुनले नेपाल र भारतको सिमा छुट्टाउने सिमा स्तम्भ नहुँदा समस्या भइरहेको बताए ।
उनले आफ्नो क्षेत्रमा एउटा ठुलो सिमलको रूख रहेको र त्यसैलाई नै सिमा स्तम्भ मान्दै आएको पनि बताए । उनले भने,‘ हाम्रो भौवा नाकामा सीमाका पिलर कहिँ पनि छैनन् । हामीले एउटा सिमलको रुखलाई नै पिलर मानेर नेपाल र भारतको भूमि छुट्टाउँदै आएका छौँ । यो सिमलको रूख ढलेपछि हामी सीमाको पिलर खोज्न कहाँ जाने रु हामीले कसलाई बोलाएर पिलर खोज्ने – यस्तै उनले भौवा नाकामा सिमा स्तम्भ बनाइ दिनको लागि पनि राज्यसँग माग गरे ।
यस्तै सोही ठाउँका स्थानीय यम बहादुर परियारले पनि भएका सिमा स्तम्भहरू जीर्ण भएका र आफूहरूले सिमलको रुखलाई नै सिमा स्तम्भ मान्दै आएको बताए ।उनका अनुसार उक्त सिमलको रूख खोलाको छेउमा नेपाल र भारतको बिचमा रहेको हुँदा त्यसैलाई आधार मानेर नेपाल भारतको सिमा स्तम्भ मानिदै आइएको छ । उनले भने,‘ हामीलाई त्यही सिमलको रुखले दक्षिणमा भारत र उत्तरमा नेपाल पर्दछ, भन्ने जनाएको छ । दक्षिण क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) नजिकै आएर बसेको छ । हाम्रो नेपालको पनि सिमा सुरक्षा बल खटेको छ ।’
यस्तै उनले कुनै पनि कारणले भोलि गएर त्यो सिमलको रूख नष्ट भएका सिमा छुट्टाउने समस्या हुने भएकाले राज्यले यसतर्फ ध्यान दिनु पर्ने पनि बताए । ‘ अहिले रूख ठुलो छ । तर, भोलि त्यो सुकेर नै जाने हो । भोलि नेपाल र भारतको सिमा कता हो ? भन्ने समस्या हुनसक्छ । त्यसैले यहाँ सिमा स्तम्भ राख्न सरकारले ध्यान दिनु पर्छ । अहिले रुखलाई नै आधार मानेर हामीहरू बसेका छौँ,’ उनले भने ।
दाङको राजपुर गाउँपालिका ६ मा पर्ने भौवा नाकामा नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको दशगजामा ठूलो सिमलको रुख छ । दक्षिणतर्फ भारत र उत्तरतर्फ नेपालको बीच दशजगाको केन्द्र बिन्दुमा ठूलो सिमलको रूख देखिन्छ । सिमलको रुखदेखि उत्तर तर्कतिर नेपालबाट भौवा खोला भारत तर्फ बग्छ । सिमलको रुखदेखि उत्तरतर्फ नेपाली बस्तीहरू सजिलैसँग देख्न सकिन्छ , भने पश्चिमतर्फ ६२५ नम्बर र पूर्वमा ६२४ नम्बरको नेपालको सीमा स्तम्भ रहेको छ ।
सिमलको रुखदेखि ठ्याक्कै दक्षिण तर्फ भारतीय सुरक्षा बल एसएसबीको क्याम्प रहेको छ । पहाडबाट बसाइँसराई गरेर भौवा नाका झरेका अधिकांश सीमा बासीहरूले दशजगामा सीमा स्तम्भ नभएकै कारण दुई देशको सीमा छुट्याउने सिमलको रुखलाई मान्दै आएको बताउँछन । आफ्नै गाउँपालिका आउन पनि भौवा नाका बासीलाई भारतको भूमि प्रयोग गर्नु पर्ने बाध्यताले उनीहरू भारतीय सुरक्षाकर्मीको ज्यादती सहनु परिरहेको छ । नेपाली भूमि प्रयोग गर्न वर्षायाममा गतिलो बाटो नहुँदा नाका बासीले नेपालमै आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्थाले नाका बासीले समस्या भोग्दै आएका छन् ।
यस्तै स्थानीय सरकारले भने तत्काल सिमा स्तम्भको लागि राज्य ध्यान दिनु पर्ने बताएको छ । गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले अहिलेसम्म आफूहरू सिमलको रुखलाई नै सिमा स्तम्भ मान्दै आएको बताइन् ।
उनले सिमलको रूख सुकेर ढल्न सक्ने भन्दै नेपाल सरकारको ध्यान यसतर्फ जानु पर्ने बताइन् । उनले भारतले नेपाली भूमि मिच्दै गएको अवस्थामा भोलि गएर यो रूख नष्ट भएमा यहाँ समस्या हुने भएकाले स्थानीय तहले मात्र नहुने भएकाले राज्यले नै ध्यान दिनु पर्ने बताइन् । उनले अहिले यहाँका नागरिकहरूले सिमलको रुखसँगै भारतीय सिमा सुरक्षाकर्मीहरू पनि नजिकै क्याम्प राखेर बसेको अवस्थामा उनीहरूले यसैलाई सीमाको आधार मानेर बसिरहेको पनि बताइन् ।


