बिजौरी । तुलसीपुरमा करिब डेढ दशक अघिदेखि जम्न थालेको हत्याहिंसाको शृङ्खला अझैपनि निरन्तर जारी छ । असुरक्षित तुलसीपुरमा सुरक्षाको प्रत्याभूति हुनेगरी विश्व समुदायमा म्यासेज दिन नसक्नुमा सबैभन्दा ठूलो कमजोरी यहीँ क्षेत्रकै राजनेताहरुको देखिन्छ । खुलेआम हत्या आतंक मच्चाउनेहरुलाई आम माफी दिनेदेखि संरक्षण गर्नेसम्मका काम यहीँकै नेताहरुबाट भैरहँदा तुलसीपुरमा आपराधिक शृङ्खलाहरु रोकिनुको साटो फेरी उनै माफी पाएकाहरुबाट समेत हुन थालेको छ ।
ऐतिहासिक जनआन्दोलन २०६२/२०६३ साल ताका तुलसीपुरमा डन ग्रुप निकै हावी थिए । खासमा उनीहरु दुई समूहमा थिए । तल्लो ग्रुप र माथिल्लो ग्रुपका नाममा उनीहरु परिचालित हुन्थे । त्यहीँ समयमा उनीहरुको संलग्नतामा भूमिगत समूह टाइगर ग्रुप समेत निर्माण भएको थियो । टाइगर ग्रुपको प्रभुत्व साविकको मध्यपश्चिम विकाश क्षेत्रभरी फैलिइसकेको थियो ।
त्यहीँ समयमा तल्लो र उपल्लो ग्रुप आमने सामने भए । एउटाले अर्कालाई हात त भन्दाभन्दै एउटा ग्रुपले गोलि चलाएपछि बुद्धि केसीको हत्या भयो । त्यसपछि हत्या शृङ्खला जोडिंदै सञ्चार उद्यमी हेमराज धितालसम्म पुग्यो । संसाझै गोलि हानी हत्या गरिएका हेमराज धितालका अभियुक्तलाई प्रहरीले अझै पनि सार्वजनिक गर्न सकेको छैन । प्रहरीको एउटै अभिव्यक्ति छ, फाइल क्लोज भएको छैन ।
त्यसपछि केहि समय तुलसीपुर शान्त जस्तै देखियो । तुलसीपुर इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले त्यहीँ बेला पत्रकार सम्मेलनमा भनेका थिए, तुलसीपुरमा अब दुई वटा भाले पनि लड्न पाउने छैनन्, डन प्रवृत्ति अब पूर्णरुपमा अन्त भएको छ । प्रहरी नायव उपरीक्षक सापकोटाले त्यस्तो अभिव्यक्ति दिइरहँदा खुकुरी प्रहार गरी हत्या मच्चाउनेहरुलाई समेत यहाँका नेताहरुले आम माफी दिलाए । भूमिगत भएकाहरुको पनि कैद भुक्तान जस्तै भयो । उनीहरु फेरी सल्बलाउन थाले ।
त्यसपछि तुलसीपुरका प्रख्यात व्यवसायी राजकुमार श्रेष्ठको हत्या भयो । उनको हत्यामा जुन समूह संलग्न थियो, सबैभन्दा सक्रिय आपराधिक समूह त्यहीँनै हो भन्ने अगुवाहरुको भनाइ छ । वि.सं. २०७६ चैतमा तुलसीपुरको वडा नम्बर ५ का हिरा डाँगीको खुकुरी प्रहार गरी दिनदहाडै हत्या भयो । उनलाई वडा नम्बर ५ बाट लखेट्दै ६ नम्बर वडामा लगेर खुकुरी प्रहार गरी हत्या गरियो । उनका अभियुक्तहरु मध्ये पनि सबै पक्राउ पर्न सकेका छैनन् । पक्राउ परेकालाई पनि प्रक्रिया पुर्याएर उन्मुक्ति दिने अभ्यासमा तुलसीपुरकै राजनेताहरु लागिरहेका छन् ।
उरहरी चोकमा पाटेबाघ भनिने एक जनाको हत्या भयो । अभियुक्तलाई फेरी यहीँकै राजनेताहरुले संरक्षण दिए । दिनदहाडै भएको हत्याका अभियुक्तलाई यहीँकै नेताहरुले संरक्षण दिइरहँदा तुलसीपुर सुरक्षित हुने क्रम भंग भयो । जानकारकाअनुसार तुलसीपुर क्षेत्रमा डेढ दशक अघि हत्या आतंक मच्चाउनेहरु अहिले पनि फिल्डमै छन् । उनीहरुसँग हतियार पनि भएको बताइएको छ ।
यहीँ शृङ्खला नरोकिंदा तुलसीपुर विश्व समुदायमै असुरक्षित कहलिएको छ । संयुक्त राष्ट्रसंघले पनि तुलसीपुरलाई अझैसम्म असुरक्षाको सूचीबाट हटाएको छैन । आफ्ना माताहतका निकायका कर्मचारीलाई तुलसीपुरमा रात्रिवास बस्न राष्ट्रसंघ लगायत अन्य दातृ निकायले अनुमति दिएका छैनन् ।
प्रभावमा प्रहरी
तुलसीपुर प्रहरी सधैं जसो राजनेताहरुको प्रभावमा परेको देखिन्छ । पाटेबाघको हत्याकाण्ड होस् वा राजकुमार धितालको हत्याकाण्डका अभियुक्तहरु विभिन्न वाहनामा उन्मुक्ति पाइसकेका छन् । उनीहरु अहिले फिल्डमै छन् । ‘प्रहरीले उनीहरुका बारेमा सूक्ष्म अध्ययन गर्नु पथ्र्यो, त्यो हुन सकेको छैन, गुण्डाराजहरु अझै पनि फिल्डमै छन्, उनीहरुसँग केहीँ घरेलु हतियार समेत छन्’, तुलसीपुरका एक नागरिकले भने । जबसम्म अभियुक्तहरुलाई राजनीतिक संरक्षण हुन्छ, तबसम्म तुलसीपुर पूर्णरुपमा सुरक्षित हुन नसक्ने पनि उनको अभिव्यक्ति थियो ।
नेताहरुबाटै पटक पटक आपराधिक गतिविधिमा संलग्न हुनेहरुलाई संरक्षण भैरहन्छ भने सुरक्षित तुलसीपुरको परिकल्पना गर्न नसकिने नागरिक अगुवाहरुको भनाइ छ । तर नेताहरुबाट यो विषयमा कुनै गम्भीरता प्रदर्शन हुन नसक्दा यसै साता फेरी शरद र रोशनीको हत्या भयो । अभियुक्तहरुलाई कसरी पक्राउ गर्ने र के कस्तो कारवाही गर्ने भन्ने चर्चा पनि बजारमा चल्न थालेको छ । यदि फेरी पनि अभियुक्तलाई सहजै उन्मुक्ति दिने वातावरण बनेमा तुलसीपुर थप असुरक्षित हुने पनि सुरक्षा विश्लेषकको दावी छ । – साक्षी खबरबाट


