बिजौरी । यसपटक जफत गरिएका दैनिक खाद्य सामाग्री जलाउन निकै सहज हुने छ भन्ने धेरै अनुगमनकर्ताको विश्वास थियो । बिजौरी बजारका विभिन्न खाद्य पसल तथा डेरीबाट जफत गरिएका म्याद नाघेका, सडेगलेका, र लेवलिङ नगरिएका उपभोग्य सामाग्रीहरु जफत गरिए ।
तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता शाखाको संयोजनमा खाद्य गुणस्तर डिभिजन कार्यालयय तुलसीपुर, प्रहरी चौकी हेमन्तपुर माताहतको बिजौरी प्रहरी पोष्टका सुरक्षाकर्मी, बिजौरी उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि तथा सन्चारकर्मीहरु समेतको सहभागितामा बिजौरी बजारका विभिन्न पसलहरुमा आइतबार विहानैदेखि अनुगमन सुरु भएको थियो ।

विहानैदेखि सुरु भएको अनगुमनका क्रममा मानपुर रोड क्षेत्रका कम्तिमा एक दर्जन बढी पसलहरुमा अनुगमन गरियो । अनुगमनका क्रममा मदिरा पसलदेखि डेरी उद्योग तथा चियानास्ता पसलहरु र खाद्य पसलहरुमा चेकजाँच गर्दा बजारको अवस्था उस्तै । व्यापार व्यवसाय सन्चालन गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रियामा त्रुटिदेखि म्याद नाघेका र उपभोग गर्नै लायक नभएका दैनिक उपभोग्य सामाग्रीहरु पनि बजारभरी भेटिए । दालमा चिलेसा, चामलमा घुन त सामान्य देखिन्थे । उपभोग मुल्य नबुझिने उपभोग्य सामाग्रीहरुको पनि बजारमा प्रशस्त छन् । राप्ती भुजा र सल्यानी भुजामा पनि समस्या देखिएको छ । ‘सय ग्राम तौल उल्लेखित भुजाको प्याकेट तौल भन्दा १७ ग्राम कम पाइएको छ भने हामी उपभोक्ताहरु कसरी दैनिक रुपमा ठगिइरहेका छौं’, बिजौरीका एक उपभोक्ताको गुनासो थियो ।
उपमहानगरपालिकाका उपभोक्ता शाखा प्रमुख रेखा शर्माको नेतृत्वमा खाद्ध गुणस्तर डिभिजन कार्यालय तुलसीपुरका रिजन कार्की, तुलसीपुर उपमहानगरपालिका—१८ का वडाध्यक्ष माधव वली, बिजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतम, आधिकारकर्मी केशव कुमार शर्मा, प्रहरी चौकी हेमन्तपुर माताहतका सुरक्षाकर्मी तथा सन्चारकर्मी समेतको रोहवरमा बजार अनुगमन गरियो । अनुगमनका क्रममा डेरीमा राखिएको घ्यू देख्दै कालो फोहर जमेको, लेवलिङ नभएको पाइएको थियो । उक्त डेरीबाट टोलिले कम्तिमा ६ लिटर घ्यू जफत गर्यो । प्रति लिटर तेह्र सय मुल्य पर्ने घ्यू थियो, त्यो ।

अर्को एउटा ठुलो खाद्य तथा किराना पसलमा केही उपभोग मिति सकिएका अचारका बट्टाहरु, अर्को पसलमा म्याद गुज्रेका वेसनका पोका, अर्को पसलमा मुङको सडेको दल तथा किरा लागेको सेतो तील र केही पसलमा डेट स्पायर गहुँको आटा समेत भेटिए । ती सामाग्रीहरुलाई उपभोक्ता हकहित संरक्षण ऐन अन्तर्गत मुचुल्का उठाइयो । त्यसपछि अनगगमन टोलीले उद्योग वाणिज्य संघ र स्थानीय सुरक्षाकर्मीको रोहवरमा मानपुर रोडकै किनारामा जलाएको थियो । जब गत्ता जलाएर घ्यू पोखियो, आगो पटक पटक निभेको थियो । ‘आगोमा पनि नजल्ने कस्तो घ्यू रहेछ, यसको गुणस्तरियतामा कसरी विश्वास गर्ने ?’ अनुगमनमै सहभागी एक जना प्रतिनिधिले घ्यूको गुणस्तरबारे आश्चर्य प्रकट गरेका थिए । चार किलो घ्यू अन्य सामान नष्ट गर्न करीव आधा घण्टा लागेको थियो ।

जफत गरिएको घ्यूको मुल्य १३ सय रुपैया प्रतिकिलोमा बेच्ने गरिएको थियो । त्यसो त बिजौरीकै अर्को खाद्य पसलमा वीरगन्जमा उत्पादन भएको लेवल टागिएको आधा किलो घ्यूको मुल्य भने जम्मा ३ सय ४० रुपैया थियो । त्यो घ्यूको विषयमा अनुगमन र निरीक्षण परीक्षण गर्ने कि नगर्ने ? पत्रकारहरुले यहि प्रश्न सोधेका थिए । प्रश्नको उत्तरमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता शाखा प्रमुख रेखा शर्माले तुलसीपुर बजारमा पनि यस्ता घिउ भेटिएकाले गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाएको बताइन् ।
तिहार नदिकिंदै गर्दा वारा र वीरगन्जबाट बर्षेनी यस्तै गुणस्तरहीन घ्यू दाङका बजारमा व्यापारीहरुले भित्र्याउने गरेका छन् । यस्ता घ्यूका विषयमा स्थानीय प्रशासन, स्थानीय सरकार र उपभोक्ता हकहित संरक्षण मन्च लगायतले संयुत्त अनुगमन गरी कानुनी कारवाहि समेत गर्नुपर्ने अधिकारकर्मी केशव कुमार शर्माले बताएका छन् । अनुगमनलाई स्थानीयबासीहरुले पटके भनेका छन् । स्थानीय उपभोक्ताहरुले यस्ता अनुगमनलाई नियमित बनाइ अखाद्ध सामाग्रीहरु वेच्नेलाई कडा कानुनी कारवाही गर्नपनि सुझाव दिएका थिए । अनुगमन निरन्तर भैरहंदा पनि बजार पुर्णरुपमा सुध्रन सकेको छैन । व्यवसाय स्थानीय पालिकामा दर्ता भएर सन्चालनमा ल्याउनुपर्ने स्थानीय सरकारले कानुनी व्यवस्था गरेपनि अधिकांश प्रतिष्ठानहरु उपमहानगरपालिकामा दर्ता नभएको पाइएको छ ।
विशेषगरी मदिरा व्यवसायीहरु स्थानीय पालिकामा दर्ता हुन चाहिरहेका छैनन् । उनीहरुले घरेलु, प्यान र भ्याटमा दर्ता भैसकेको भन्दै दोहोरो कर बुझाउदा आफुहरुलाई थप आर्थिक भार परीरहेको पनि अनुगमन टोलिलाई बताएका थिए । अन्य व्यापार व्यावसाय भन्दा मदिरा व्यवसायलाइ उपमहानगरपालिकामा दर्ता गर्दा शुल्क महंगो भएकाले पनि उनीहरु स्थानीय सरकारमा दर्ता हुन नचाहेको बताएका छन् ।

धेरै क्षेत्रबाट अनुगमन भैरहेपनि दैनिक उपभोक्ताको बजारमा सुधार आउन सकेको छैन । होटलहरुमा खाद्य स्वच्छताको अवस्था दयनिय भएको उपभोक्ताहरुको गुनासो छ । माछा व्यापार धुलाम्मे सडकमा भैरहेको छ । तुलसीपुरमा मासु मन्डी पनि बर्षौ देखि उस्तै छ ।
काटिएको मासु खुल्ला रुपमा फलामे हुकमा झुण्ड्याउने गरिएको पाइन्छ । बधशाला भुस्याहा कुकुरले चाटिरहेको देखिन्छ । फलफुल व्यवसाय पनि खुल्ला सडकमै भैरहेको छ । फलफुल पनि सडेगलेका पाइन्छन् । जतिसड्दै जान्छ, त्यसरीनै भाउ घटाएर व्यवसायीहरुले बेचविखन गर्दे आएका छन् । उपभोक्ताहरुले यसमा पनि निगरानी राख्न स्थानीय सरकारलाई आग्रह गरिरहेका छन्


