
शान्तिनगर । जिल्ला समन्वय समितिको आयोजना तथा शान्तिनगर गाउपालिकाको व्यवस्थापनमा तेस्रो अन्तरपालिका घुम्ति बैठक शुक्रवार शान्तिनगरमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको तेस्रो बैठक विशेषगरी न्यायिक समितिको कार्य सम्पादन र विपत व्यवस्थापनमा केन्द्रित रह्यो । शान्तिनगर गाउपालिकाका अधिकृत कृष्ण कडेलले आफ्नो पालिकाले गरेका कार्य सम्पादनका विषयमा प्रकाश पारे पछि अध्यक्ष प्रमोद बस्नेतले पनि विपत व्यवस्थापनको सन्दर्भमा केहि बोलेका थिए ।
न्यायिक समितिमा फर्केक्ट मेलमिलापकर्ता नहुंदा तथा विकाश निर्माणका आयोजनामा ठेकेदार अधुरा काम छाडेर फरार भैरहंदा प्राकृतिक विपतको व्यवस्थापनमा ठुलो चुनौति थपिएको पालिकाका जनप्रतिनिधिहरुले बताएका छन् । छाडा चौपायाको समस्या तथा वेसहारा वालवालिकाको व्यवस्थापनका सन्दर्भमा पनि अन्तरपालिका समन्वय र सहकार्यको पनि बैठकमा अपेक्षा गरिएको थियो । त्यसमा पनि सवैभन्दा बढि समय पाएको विषय भनेको न्यायिक समिति र प्रहरीको मेलमिलापको सन्दर्भ थियो । प्रहरीले पनि हतपती मुद्धा चलाउन गाह्रो र न्यायिक समितिले पनि सकेसम्म मेलमिलाप गराउने सन्दर्भमा बहश बढि केन्द्रित थियो ।
त्यसो त स्थानिय सरकारका केहि न्यायिक समितिमा बर्षभरीमा तीन दर्जन मुद्धा प्रवेश गरीरहंदा जिल्ला प्रहरी कार्यालयमा यस्तै मेलमिलापका ३ सय मुद्धाहरु पुग्ने गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख वीर वहादुर वलीले न्यायिक समितिमा आउने मुद्धाहरुलाइ गम्भीर भएर स्थानिय सरकारलेनै मिलाउन पहल गर्नुपर्ने सुझाव राखे । उनको तितो अनुभव थियो, ‘घर जोडिएकाहरुको पनि मन फाटेको छ’, त्यसलाइ मिलाउन स्थानिय सरकारको न्यायिक समिति पर्फेक्ट हुन जरुरी छ ।
न्यायिक समितिमा आउने मुद्धा र जिल्ला प्रहरीको महिला शेलमा आउने मुद्धाहरु एकै प्रकृतिका छन् । ती मुद्धा सवै मानवियताका सन्दर्भमा केन्द्रित हुन्छन् । सडकको सिनो नउटाएदेखि सधियारले जग्गा च्यापेको समेत विवाद जिल्ला प्रहरीमा आउने गरेको प्रहरी प्रमुख वलीले बताए । प्रहरी एक्लैको प्रयासले न जुवातास नियन्त्रण हुन्छ, नत लागु औषधको कारोवार र सेवनकर्ता नियन्त्रणमा हुन्छन्, नत विपतमा हामीले चाहे अनुसारको उद्धार गर्नसक्षम हुन्छौं । ‘वल्लो घरको मान्छेले दिनदिनै लागुऔषध सेवन गरीरहंदा र उसको च्यानलमा व्यापार गरीरहंदा पल्लो घरको मान्छेले देखेर पनि बोल्न सक्दैन भने प्रहरी एक्लैले यो विकराल समस्यालाइ कसरी न्युनिकरण गर्न संछ’, प्रहरी प्रमु्खले भने, घरजोडिएकाहरुका पनि मन फाटेका छन् । मृतक बुवा आमाको ज्युनी कसले खाने भन्ने मुद्धा पनि स्थानिय सरकारले मिलाउन नसकेर प्रहरीकोमा आउदा प्रहरीलाइ मुद्धा किनारा लगाउनै समस्या भएको उनको अभिव्यक्ति थियो । उनले न्यायिक समितिलाइ जागिरे अखडा नबनाएर विज्ञता भएका व्यक्तिहरुको संस्था बनाउन पनि स्थानिय सरकार प्रमुखलाइ आग्रह गरे ।

घुम्ति बैठकमा उठेको अर्को महत्वपुर्ण विषय भनेको विपतको थियो । विपत व्यवस्थापनकै सन्दर्भ । लमही—घोराही सडकमा पहिरो जांदा बाटो खोल्न प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख मसौट छिचोल्दै थिए । दशैको भोलिपल्ट उनीहरु लमही नपुग्दै दुवै तर्फबाट खसेको पहिरोमा रोकिए । पहिरो एउटा मात्रै थिएन । वयानव्वे स्थानमा पहिरो जांदा स्थानिय सरकारका विपत व्यवस्थापन समितिको स्टोरमा ताल्चा लागेको थियो । सडक विभागको डोजर चालक दशै विदामा घरमा मस्त थिए । विपत व्यवस्थापन शाखाको स्टोरमा ताल्चा लाग्छ भने त्यो भन्दा दुर्घाग्य के हुन सक्छ । दशै विदा सरकारी निकायमा काम गर्ने व्यक्तिलाइ दिइएको सुविधा मात्रै हो, अधिकार होइन, विपत व्यवस्थापन शाखाका स्थानिय सरकारका पदाधिकारीहरु चौविसै घण्टा अनकलमा हुनुपर्दछ, विपत व्यवस्थापनका सामाग्रिहरु चलाउन जान्ने कर्मचारी व्यवस्थापन गर्नु पर्छ भन्ने तिता मिठा सुझाव सहित बैठकमा बृहत छलफल पनि भयो ।
त्यसैगरी घुम्ति बैठकमा अर्को एउटा वहश भयो, त्यो हो स्थानिय सरकार भन्दा वाहिर प्रदेश सरकार र संघिय सरकारको विभिन्न विकाश निर्माणका ठेक्का लिएर फरार हुने ठेकेदारका विरुद्ध । तोकिएको समयमा पनि काम नगर्ने, तोकिएको मापदण्ड र गुणस्तरमा पनि काम नगर्ने तर विपतको वेला सम्पर्क विहिन हुने अवस्थाले पनि यो पटकको झरीको समयमा निकै समस्या भएको पालिका प्रम्खहरुले बताएका छन् । ठेक्का लिएर पनि सडक निर्माण पुरा नगर्ने प्रबृत्तिले कालाकाटे—गढवा—राजपुर सढक खण्ड धेरै स्थानमा अवरुद्ध भए । तर संपर्क गर्न खोज्दा ठेकेदार संपर्क विहिन । गढवा गाउपालिकाका अध्यक्ष एमनारायण पोख्रेल, उपाध्यक्ष सारदा चौधरीको यो अभिव्यक्तिलाइ दंगिशरण गाउपालिकाका अध्यक्ष सम्भु गिरीले पनि होस्टेमा हैसे गरे । दंगिशरण गाउपालिकामा एउटा सडक निर्माणको ठेक्का लिने ठेकेदार जनप्रतिनिधि भएपछि उसको ठेक्काको काम अलपज्ञ छ, त्यसलाइ कसरी सम्वोधन गर्ने आफुहरुलाइ थाहा नभएको भन्दै समन्वयको अपेक्षा उनको थियो ।
तुलसीपुरका उपप्रमुख स्यानी चौधरी देखि वगलाचुलिका प्रमुख प्रशाशकिय अधिकृत र ववइका प्रमुख कुल वहादुर केसीको पनि यस्तै वेवारीसे विकाशका कारण समस्या भएको अभिव्यक्ति थियो । कार्यक्रममा सवै पालिकाका प्रमुख, उपप्रमुख र प्रतिनिधिहरुले केहिन केहि समस्या राखेका थिए । त्यसलाइ समन्वयात्मक भुमिका जिल्ला समन्वय समितिले खेल्नुपर्ने र निति नियम बनाएर सवै विषयबस्तुलाइ क्रमश समाधान गर्दै लैजाने प्रमुख जिल्ला अधिकारीले स्पष्ट पारेका थिए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले यी सवै समस्यालाइ संबन्धित निकाय सम्म पु¥याउन सहजीकरण र समन्वय गर्ने आश्वासन दिए ।