टिकट नपाउँदा आक्रोस

बिजौरी । संघीय संविधान जारी भएपछि संघ र प्रदेशसभाको फेरी आगामि कार्यकालका लागि निर्वाचन हुँदैछ । निरन्तर सात दशक सम्मको आन्दोलनपछि मुलुकले संविधान सभाबाट नयाँ लोकतान्त्रिक संविधान पाएप्छिको यो दोस्रो निर्वाचन पनि हो । आइतबार देशैभरी दुवै तहको निर्वाचन लागि मान्यता प्राप्त दलका आधिकारिक उम्मेदवारहरुले मनोनयन दर्ता गरे । मनोनयन दर्तासँगै टिकट नपाउनेहरुको आक्रोश चलिएको मात्रै छैन, धेरैले त दलनै परित्याग गरेर अर्को दलबाट उम्मेदवार बने ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट टिकट नपाएपछि गंगा चौधरीले दलनै परित्याग गरी अर्को दलबाट उम्मेदवारी दिइन् । सोहि क्षेत्रमा प्युठानबाट टिकट नपाएका डा. गोविन्द पोख्रेलले कांग्रेस परित्याग गरी दाङबाट उम्मेदवारी दिने चर्चा मनोनयनको दिनभर चल्यो । कांग्रेसबाट टिकट नपाएकालाई अर्को दलबाट उम्मेदवार बनेमा सघाउने एमालेको सहमति भयो । शान्ता चौधरीले पार्टीले भनेमा आफुले उम्मेदवारी नदिने पनि अभिव्यक्ति विभिन्न सामाजिक सञ्जालहरुमा आए । अन्ततः डा. गोविन्द पोख्रेल मनोनयन दर्ता गर्न आएनन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रदेश सभाको टिकट पाउने आशामा रहेका कांग्रेस नेता खगराज पाण्डेले आफ्नो फेसबुक वालमा चर्को आक्रोश पोखे । नेतृत्वप्रति चर्को असन्तुष्टि सहित । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री समेत रहेका पाण्डेको निर्वाचनमा के भूमिका हुने भन्ने निकै चर्चा चलेको छ ।

दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरीले राजनीतिक विश्राम लिने अभिव्यक्ति आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरे । एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्ष समेत निर्वाचित भएका चौधरीको प्रदेशसभामा टिकट पाउने आशा थियो । निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेस नेता हिम बहादुर डाँगीले पनि आफ्नो फेसबुक वालमा टिकट नपाउँदाको आक्रोस पोखेका छन् ।

अन्य जिल्लामा त यो अवस्था अझै भयावह छ । एमालेबाट टिकट नपाएपछि दशभाइ मध्येका नेता घनश्याम भुषाल त माओवादीको तर्फबाट उम्मेदवार बने । भिम रावलको पनि अवस्था त्यस्तै देखियो । यो प्रवृत्तिले मुलुकभरी खैलाबैला मच्चाएको छ ।

राजनीति हजारले खेती गर्ने र केहिले मात्रै स्याहार्ने अभ्यास हो । तर पटक पटक अवसर पाएकाहरुलेनै यसरी आक्रोस पोख्दा र दल बदल गर्दा लोकतन्त्रमै गम्भीर संकट देखिन थालेको छ । दलहरु कमजोर भए भने लोकतन्त्र कमजोर हुन्छ भन्ने लोकतान्त्रिक मान्यता हो । यहि अभ्यास भैरहेको छ मुलुकमा । अर्को कुरा पार्टी भित्र पनि अलोकतान्त्रिक अभ्यास छ । सबैलाई समान अवसरको व्यवस्थापन हुन नसक्दा क्षण भरमै दल बदल गर्ने अभ्यास बढ्न थालेको छ । सधैभरी आफैले मात्र अवसर पाउनु पर्छ भन्ने चरित्र दलका नेताहरुमा देखिन थालेको छ । जसले गर्दा युवा पुस्ता अर्थात् नयाँ अनुहारहरु राजनीतिमा आउनबाट बन्चित भइरहेका छन् ।

दलका नेताहरुमा गैरराजनीतिक चरित्र देखिनुले लोकतन्त्रलाई नै कमजोर बनाइरहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ । यसो भैरहँदा धेरै बालिनहरुको उदय हुने संकेत यो निर्वाचनले देखाएको छ । ठुला राजनीतिक दलहरुमै आफ्नो नीति र सिद्धान्त स्पष्ट छैन । खालि सत्ताका लागि जे गर्न पनि उनीहरु तयार छन् । यसो भइरहँदा यो निर्वाचनमा धेरैले स्वतन्त्र उम्मेदवारी दिएका छन् । साना दलहरुको उदय भइरहेको छ ।

संसदमा कुनै पनि दलको स्पष्ट बहुमत आउन आवश्यक छ । स्पष्ट बहुमत आएको अवस्थामा कम्तिमा ५ वर्ष राजनीतिक स्थायीत्व हुने थियो । तर राजनीतिक स्थायीत्व हुन नदिन वैदेशिक चलखेल पनि भइरहेको विश्लेषकहरुको भनाइ छ । यसले फेरी पनि गठबन्धनकै सरकार बनाउनुपर्ने बाध्यता निम्त्याएको छ । यो निर्वाचनमा पनि कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत देखिइसकेको छ । जुन गलत संसदीय अभ्यास हो । जसले आम मतदातालाई समेत अन्योल बनाएको छ ।

– साक्षी खबरबाट

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस