दलको निर्णय नमान्नेलाई आज दिउँसो १ बजेसम्मको म्याद

काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठकले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेदवारविरुध्द उम्मेदवारी दिएकाहरूलाई आज दिउँसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ ।

बैठकपछि हिजै राति नेकपा एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा पनि त्यस्तै निर्देशन छ । महासचिव डा। बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा बागी उम्मेदवारी दिएका आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई नाम फिर्ता लिन भनिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमतिविपरित उम्मेदवारी दिएका हाम्रो पार्टीका सबै साथीहरूलाई निर्धारित समय २०७९ असोज २६ गते दिउँसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन गरिन्छ । पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा कारबाही हुने व्यहोरा पनि जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस