काठमाडौं । विश्वमा बढ्दो आर्थिक मन्दीको जोखिमका बीच केही समयदेखि विश्वचर्चित ठूला कम्पनीहरु पनि कर्मचारी कटौतीमा लागिरहेका छन् ।
कतिपय कम्पनीले नयाँ कर्मचारी भर्ना पूर्ण रुपमा बन्द गरेका छन् भने कतिले कार्यरत कर्मचारीहरुलाई अवकाश दिइरहेका छन् । कर्मचारी कटौतीको यो मेलोमा अब फेसबुकको मातृ कम्पनी मेटा पनि परेको छ । मेटाले हजारौं कर्मचारीलाई अवकाश दिन थालेको खबर सार्वजनिक भएको छ ।
बिजनेस स्टाण्डर्डमा प्रकाशित एक रिपोर्ट अनुसार मार्क जुकरबर्गको नेतृत्वमा रहेको मेटाले फेसबुकमा कार्यरत करीब १२ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ । यो संख्या फेसबुकका कुल कर्मचारीको १५ प्रतिशत हो ।
मेटा सीईओ जुकरबर्गले केही महिनाअघि नै कम्पनीमा नयाँ कर्मचारी भर्ना रोक्ने बताएका थिए । आर्थिक मन्दीका कारण डिजिटल विज्ञापन व्यवसायमा नकारात्मक असर परिरहेको हुँदा कठोर कदम चाल्ने अवस्था आउनसक्ने उनको भनाइ थियो । सोही बमोजिम अहिले नयाँ भर्ना रोक्ने मात्र नभई हजारौं कर्मचारी कटौती गर्ने योजना बनाइएको हो ।
रिपोर्ट अनुसार आगामी केही हप्ताभित्रैमा मेटाले कर्मचारी कटौती अभियान सुरु गर्नेछ । फेसबुकको मातृ कम्पनी मेटाले वर्तमान आर्थिक मन्दीबाट पार पाउन खर्च कटौतीलाई नै प्राथकितामा राखेको रिपोर्टमा उल्लेख छ ।
गत वर्ष मेटा कम्पनीको सेयर इतिहासकै सबैभन्दा उच्च अर्थात् ३८० डलर प्रतिसेयर पुगेको थियो । अहिले कम्पनीको सेयर मूल्यमा त्यसको ६० प्रतिशत गिरावट देखिएको छ । मेटाको सेयर मूल्य गतसाता १३५ डलरसम्ममा कारोबार भएको थियो ।
चीनको अलिबाबा कम्पनीले १० हजार कर्मचारी कटौती गरेको बताइएको छ । त्यस्तै अमेरिकी कम्पनी वालमार्टले २०० जना कर्मचारीलाई जागिरबाट निकालेको छ भने भारतको तेस्रो ठूलो प्रविधि कम्पनी एचसीएल टेक्नोलोजीले विभिन्न मुलुकमा कार्यरत ३५० जना कर्मचारी कटौती गरेको छ ।-एजेन्सी


