
देउखुरी । दाङको लमही नगरपालिकामा जनप्रतिनिधिले तालाबन्दी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतको रुपमा गेहेन्द्र बहादुर डाँगीलाई नगरपालिकामा कामकाज गर्न नदिन माग राख्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यले तालावन्दी गरेका हुन ।
नगरपालिकाको मुल गेटमा तालबन्दी गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवेन्द्र श्रेष्ठ कार्यरत रहँदै गर्दा नगरप्रमुख उपप्रमुखले आफु अनुकूलको अर्को प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको भन्दै तालावन्दी गरिएको हो।

लमही नगरपालिकाबाट प्रमुख प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रवहादुर डाँगी सरुवा भएपछि देवेन्द्र श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाल्दै आएका थिए।
लमही नगरपालिकाका ९ वटै वडाअध्यक्ष नगरप्रमुख उपप्रमुख बाहेकका सबै कार्यपालिका सदस्यले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । नगरपालिकामा धर्नाको कार्यक्रम सकेर आफुहरुको माग पूरा गर्न दवाव दिने उदेश्यले नगरपालिकामा तालावन्दी गरिएको नगरपालिकाका प्रवत्ता तथा वडा नं ७ का वडाअध्यक्ष मोहन गिरीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र वहादुर डाँगीले जनप्रतिनिधि अनुकल काम नगरेको आरोप आन्दोलन पक्षको छ । नगरप्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले कर्मचारी सरुवा प्रक्रिया संघीय सरकारले आवश्यकतााको आधारमा गर्ने भएकाले आन्दोलनको कुनै अर्थ नरहेको बताउँदै आएका छन् ।