
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भइरहेको छ । प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता भइरहेको हो ।
सबै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गर्न दल तथा उम्मेदवारलाई आग्रह पनि गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ ।
यस्तै, निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जनाभन्दा धेरै निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी तयारी अवस्थामा रहेको आयोगले जनाएको छ । आयोगले मनोनयन पत्रका साथ विभिन्न कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।