विश्व पर्यटन दिवसः वौरिएन पर्यटन, समस्या पूर्वाधारकै

बिजौरी । मुलुकभर विश्व पर्यटन दिवस मनाइरहँदा दाङ जिल्लामा पनि यो अवसरमा धेरै कार्यक्रमहरु सम्पन्न भए । पालिकाले आआफ्नै शैलीमा पर्यटन दिवस मनाए । घोराही उपमहानगरपालिकाको पर्यटन शाखाले मंगलबार आफ्नो पालिकामा रहेका बाह्रकुने दह, धारपानी धाम लगायतका पर्यटकीय स्थलमै पुगेर त्यहाँको पर्यटकीय सम्भावनाका विषयमा वहस गर्यो ।

तुलसीपुर उपमहानगरपालिकाले पनि विश्व पर्यटन दिवसको अवसर पारेर बजारभरी विविध साँस्कृतिक झाँकीहरु निकाल्यो । विभिन्न भेषभुषा र पहिरनमा झाँकीले बजार परिक्रमा गर्यो । त्यसपछि राप्ति शान्ति पार्कमा पुगेर पर्यटकीय मन्थन गरियो । पार्कमा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै एक दिन भएपछि पार्कलाई आन्तरिक पर्यटकले भरिभराउ गरियो । अन्य पालिकाहरुले पनि दिवसको अवसर पारेर विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना गरेर पर्यटन दिवस मनाए । रजिष्टरमा उपस्थिति जनाइयो, माइन्युट पनि गरिए । आन्तरिक पर्यटनलाई बढावा दिएर आर्थिक समृद्धि….।

पालिकाहरुले विश्व पर्यटन दिवस मनाइरहँदा तुलसीपुर उपमहानगरपालिका–१९ को पर्यटकीय स्थल छिल्लीकोट भने पर्यटकको मलिन प्रतिक्षामा छ । भर्खरै पर्यटकीय चहलपहल बढ्न थालेको छिल्लीकोटको पर्यटन विश्वव्याधि महामारीकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण थलिएको छिल्लीकोट नत पूर्वाधार पुरा भए, नत त्यहाँको आन्तरिक पर्यटन वौरिन थाल्यो ।

‘भर्खरै जाग्न थालेको पर्यटन फेरी उठ्नै सकेको छैन, पर्यटकलाई आकर्षित गर्न पूर्वाधार पर्याप्त हुन सकेनन्’, मलागेडि सामुदायिक होमस्टे छिल्लीकोटका अध्यक्ष परवीर पुनले भने । छिल्लीकोट यस क्षेत्रकै प्रमुख पर्यटकीय क्षेत्र बन्ने प्रशस्तै सम्भावना छन् । प्राकृतिक मनोरम दृश्यसँगै सयौं प्रजातिका चराहरुको क्रन्दनले पर्यटकहरुलाई मनमोहक बनाउँछ । विश्वकै दुर्लम बनस्पति मालागेडीको उत्पादनको राम्रो सम्भावना बोकेको छिल्लीकोट ऐतिहासिक हिसाबले बाइसे/चौबिसे राज्य पनि थियो । धार्मिक हिसाबले सतीदेवीको अंग पतन भएको शक्तिपीठकारुपमा पनि चिनिन्छ । यी सबै आधारले सबै खाले पर्यटक तान्ने छिल्लीकोटको हैसियत छ ।

तर वौरिन सकेछ, छिल्लीकोटको पर्यटन । यी सबथोक अवलोकन गर्न पर्यटकहरु लालाहित छन् । तर छिल्लीकोट पुग्नका लागि सहज सडक यातायात छैन । वर्षातभरी सडकमा यातायात चल्न सक्दैन, हिउँदमा धुलाम्मे सडकका कारण छिल्लीकोट पुग्नै असहज छ । जसोतसो गन्तव्यसम्म पुगियो, पर्याप्त पिउने पानी छैन । उज्यालोका लागि बत्ति छैन । टेलिफोन रिपिटर टावर निर्माण भएको वर्षौ भयो, सञ्चालनमा नआउँदा नेटवर्क सेवाको पनि उत्तिकै समस्या छ । ‘हामीले स्थानीय सरकार लगायत प्रदेश सरकारसँग पनि यी सवै समस्याका विषयमा ध्यानाकर्षण गरायौं, तर सम्बोधन र सुनुवाइ भएको छैन’, होमस्टेका अध्यक्ष पुन भन्छन् ।

त्यसो त छिल्लीकोटमा आधा दर्जन भन्दा बढी सामुदायिक होमस्टे पनि निर्माण भएका छन् । एउटा होमस्टेमा कम्तिमा ७ जनासम्मलाई रात बिताउने व्यवस्थापन उनीहरुले गरेका छन् । तर सहजरुपमा त्यहाँ पुग्ने पूर्वाधार निर्माण नभएपछि छिल्लीकोटको पर्यटन वौरिन सकेन । पूर्वाधार बिनाको पर्यटकीय समृद्धि हाँसिल हुन नसक्ने नागरिक अगुवाको भनाइ थियो । यहि निराशाका कारण दसैंअघि सञ्चालन गर्ने भनिएको जिपलाइन पनि अलपत्र अवस्थामा छ ।

छिल्लीकोट मात्र होइन, पर्यटकीय पूर्वाधारको अभावमा सवारीकोट पनि पर्यटक तान्ने हैसियतमा पुगेन । निर्माण भएका मगर ग्राम होमस्टे, प्रतिक्षामा मात्रै समय टोपलिरहेका छन् । सिसहनियाको थारुग्रामको पनि खुबै प्रचार प्रसार गरियो । तर समग्रमा थारुग्राम पनि पर्यटकीय आकर्षणको गन्तव्य बन्न सकेन । पुरन्धारा छहराको पनि खुबै चर्चा भयो, पर्यटकीय स्थल बनाउने भनेर । धेरै पिक्निक आयोजना भए, तर त्यहाँ पुग्नका लागि न सहज सडक छ, नत आकर्षक पिक्निक स्पट बनेका छन्, नत सुरक्षाको प्रत्याभूतिनै त्यहाँ छ । त्यहिँ कारण पुरन्धारा छहरा नजिकै बबई पुलमा एक जना टिकटक बनाउँदै गर्दा पुलबाट तल खसेर ज्यान गुमाए । सायद त्यहाँ सुरक्षा निकायको उपस्थिति हुँदो हो त त्यसरी ती युवकले ज्यान गुमाउनु पर्ने थिएन ।

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणले योजना गरेको एउटा योजना छनौट गोष्ठीमा पनि हरेक पालिकालाई योजना निर्माण गर्दा पर्यटन र कृषिसँग जोडिएका योजना छनौट गर्न विज्ञहरुले सुझाव दिए । तर यसअघि बनेका पर्यटकीय पूर्वाधारका योजनाहरु अलपत्र अवस्थामा छन् । बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन भन्छन् – ‘हो हामीले पर्यटनसँग जोडिएका योजना छान्ने छौं, तर यसअघि पनि सुरु भैसकेका पर्यटकीय पूर्वाधार निर्माणका आयोजनाहरु किन अलमलमा परेका छन ?’ उनको अभिव्यक्तिको जवाफ छैन, कुनै निकायहरुसँग । पर्यटन भँजाइ खाने आधार बनेको छ । समग्रमा पर्यटन समृद्धिको आधार बन्न सकेको छैन । साक्षी खबरबाट

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस