बुटवल । लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७ सय ४४ जना संक्रमित भएका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट साउन यता तीन जनाको मृत्यु भएको हो ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट मृत्यु भएको छ ।
प्रदेश निर्देशनालयका अनुसार दाङमा ११ सय ८०, रूपन्देहीमा ७ सय, अर्घाखाँची १३८, गुल्मीमा २९२, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६२, बाँकेमा ४४, कपिलवस्तुमा ४९, बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पूर्वमा १६, रोल्पामा ७ र प्युठानमा ३६ जना संक्रमित भेटिएका छन् । डेंगु संक्रमितको मृत्युुदर १ प्रतिशत भन्दा कम रहेको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको प्रवक्ता पौडेलले बताए ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले अझै २ महिनासम्म डेंगुको प्रकोप रहने अनुमान गरिएको बताए ।


