
तुलसीपुर । भौगोलिकताले उपयुक्त, वातावरणीय हिसावले पनि अत्यन्तै उपयुक्त, आवश्यक जग्गाको सहज उपलव्धता हुँदाहुँदै पनि तुलसीपुरको टरीगाउँ विमानस्थलको स्तरोन्नति राजनीतिको घेराबन्दीमा छ । एयरपोर्ट स्तरोन्नतिको जस कसले लिने भन्ने सन्दर्भमा प्रमुख राजनीतिक दलहरुका नेतृत्वमा खिचातानी हुँदा यो एयरपोर्टलाई यथास्थितिबाट पनि तल गिराउने अभ्यास सुरु भएको छ ।
नागरिक उड्ययन प्राधिकरण भन्दा पनि जेठो एयरपोर्टले धेरै ऐतिहासिक कालखण्ड व्यहोरी सकेको छ । पन्चायतकाल, बहुदलीय प्रजातन्त्र र संघात्मक गणतन्त्रलाई पनि यो एयरपोर्टले भोगिसकेको छ । तर यसको स्तरोन्नतिका लागि पहल गर्नुभन्दा बढी पहल यहाँका राजनेताहरुले कहिले नारायणपुर त कहिले गढवालाई भज्याइरहेका छन् । जुन हालका लागि अत्यन्तै असहज पनि छ । किनकि टरीगाउँ विमानस्थललाई डम्पिङ गरेर नयाँ एयरपोर्ट बनाउन दाङलाई कम्तिमा पनि दुई दशकभन्दा बढी लाग्ने छ । तर राजनीतिक इच्छाशक्ति र विकासमा सबै दलहरुबीच ऐक्यवद्धता भए तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नति गरी १७ सय पचास मिटर रन वे बनाउन कुनै हात्तिको दाँत हुने छैन ।

तुलसीपुर उपमहानगरपालिकाले टरीगाउँ विमानस्थलकै स्तरोन्नतिका सन्दर्भमा बुधबार उपमहानगरपालिकाकै सभाहलमा आयोजना गरेको सर्वदलीय/सर्वपक्षीय छलफल र संवाद कार्यक्रममा सहभागीहरुले पनि यस्तै अभिव्यक्ति दिए । सम्पूर्णरुपले सम्भावना हुँदाहुँदै पनि विमानस्थलको स्तरोन्नति नहुनु समग्र दाङबासीका लागि अन्याय हो । दाङ जिल्लाको आर्थिक समृद्धिलाई हवाइ सेवाले अवरोध पुर्याएको छ ।
त्यसो त नागरिक उड्ययन प्राधिकरणको तथ्यांकमा दाङ एयरपोर्ट भनेर चिनिने टरीगाउँ विमानस्थल अलपत्र परेको छैन, तर व्यवस्थित हुन पनि सकेको छैन । कहिले चल्ने कहिले बन्द हुने नियति तीन दशकदेखि चल्दै आएको छ । सर्वदलीय सर्वपक्षीय कार्यक्रममा नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर तथा यहिंकै स्थानीयबासी युवराज रिजालले देखाएको प्राविधिक प्रस्तुतिमा पनि यहाँ हरतरहले एयरपोर्ट स्तरोन्नति सम्भव भएको देखाए । तर त्यसका लागि रनवेको अलाइनमेन्ट परिवर्तन गर्नुपर्ने र धेरै बस्ती रहेको जग्गा अधिग्रहण गर्नुपर्ने तर्क राखे । तर एलाइन्मेण्ट परिवर्तन गर्दा हाल ओगटेको जग्गा बच्ने र त्यहि विस्थापित बस्तीलाई व्यवस्थापन गर्न सकिने सन्दर्भमा त उनको प्रस्तुतिले केही बोलेन । यदि एलाइन्मेन्ट चेन्ज गर्ने हो भने, एयरपोर्टले ओगटेको हालको जग्गा धेरै बच्ने छ । त्यो जग्गामा विस्थापित गर्नुपर्ने बस्तीलाई समेट्न सकिने छ । अर्को कुरा अधिग्रहण गर्नुपर्ने जग्गा धेरै ऐलानी पनि छ, केही कपास विकास समितिको छ अनि केही सामुदायिक वन क्षेत्र पनि हो ।

छलफल कार्यक्रममा स्थानीय विकास विज्ञ तथा पूर्व सचिव रमेश अधिकारीले आवश्यक परेको स्थानमा जग्गा दिन तयार हुने वातावरण मिलाउन एउटा अधिकार प्राप्त सहजीकरण समिति निर्माण गर्न र संघीय सरकारसँग लविङ गर्न सक्ने एउटा समिति निर्माण बनाएर अघि बढ्न सुझाव दिए । ‘गफाडी होइन, खेलाडी बनेर देखाउनु पर्ने छ, किनकि हामीलाई टरीगाउँकै विमानस्थल स्तरोन्नति गरेर सन्चालन गर्नुपरेको छ’, अधिकारीको सुझाव थियो ।
कार्यक्रमको सुरुमै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले विमान सेवा अपरिहार्य भएको भन्दै जुनकुनै हालतमा एयरपोर्ट स्तरोन्नति गर्न स्थानीय पालिकाले अग्रसरता लिने र संघीय सरकारले सम्वोधन गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए । दाङ जिल्लामा हवाइ सेवा भैदिएको भए चारतारे होटलहरु खुल्न सक्थे, दातृ निकायका व्यत्तिहरुको चहलपहल बढ्न सक्थ्यो । उच्चस्तरीय नेताहरुको नियमित आवागमन हुन सक्थ्यो । पर्यटकीय समृद्धिको रेखा कोर्न सकिन्थ्यो, तर अधुरो हवाइ सेवाका कारण यहाँको समग्र आर्थिक समृद्धिमा अवरोध भएको छ ।
एक मात्र चल्तीको विमानस्थल स्तरोन्नतिका लागि सल्यान जिल्लाको कपुरकोटदेखि दाङको लमही नगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण गाउँपालिका लगायतका प्रमुखहरुले आर्थिक, नैतिक र भौतिक सहयोगको प्रतिवद्धता व्यक्त गरे । घोराहीका मेयर नरुलाल चौधरीले क्षेत्रीय र भेगीय कुरा नगरेर समग्र जिल्लाको समृद्धिका लागि तत्काल हवाइ सेवालाई स्तरीय र नियमित बनाउन एयरपोर्ट स्तरोन्नति गर्ने सवालमा घोराहीको पुर्ण साथ र सहयोग रहेको अभिव्यक्ति दिए ।

लमही नगरपालिकाका जोगराज चौधरीदेखि दंगीशरण गाउँपालिकाका सम्भु गिरी र सल्यान कपुरकोट गाउँपालिकाका प्रतिनिधि मित्र कठायतले समेत साथ र सहयोगको प्रतिवद्धत व्यक्त गरेका थिए । नगर प्रवक्ता माधव वलीले सन्चालन गरेको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सरसफाइ अभियन्ता विमल रिजाल, तुलसीपुरका पूर्व प्रमुख ढुण्डिराज लामिछाने, समाजसेवी तथा पूर्व वडाध्यक्ष नवराज लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डे, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, तुलसीपुर उपमहानगरपालिकाका स्यानी चौधरी, सल्यान जिल्ला समन्वय समितिका उपप्रमुख, नागरिक समाज दाङका पूर्व संयोजक टिकाराम रेग्मी, एमालेका कृष्ण भुषाल, नेकाका शेशमणी पौडेल, माओवादी केन्द्रका केशव वली, दाङ उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, ज्येष्ठ नागरिक ललीत वहादुर वली, ज्येष्ठ नागरिक तिलक वहादुर बस्नेत लगायतले विमान सेवाको ढोका खोल्न अब छलफल र बैठक होइन एक्शनमा उत्रन आयोजकलाई दवाव दिएका थिए । छलफल पछि एयरपोर्ट स्तरोन्नतिका लागि सहयोग समिति निर्माण गरिने बताइएको छ ।