चारलेनको दुरदशा : विचरा ठेकेदार, खाल्डा पुर्दै पालिका

बिजौरी । ठकेदारले सिन्को नभाचेपछि अन्ततः चारलेन सडक परीयोजना अन्तर्गत पारिएका खाडलहरु स्थानीय पालिकाले पुर्ने भएका छन् । नेपालीहरुको महान चाड विजया दशमी नजिकिएकै समयमा सडकको अवस्था वेहाल भएपछि स्थानीय पालिकाले आ–आफ्नो क्षेत्रका सडकमा परेका खाडलहरु पुर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला समन्वय समितिको यसअघि भएको बैठकमा निर्माण कम्पनीले पन्ध्र दिनभित्र खाडलहरु पुग्ने सहमति भएको भए पनि एउटा खाडल पनि नपुरिएकाले मंगलबार भएको अर्को सहजीकरण बैठकमा स्थानीय पालिकाहरु घोराही र तुलसीपुर उपमहानगरपालिका तयार भएका थिए ।

त्यसका लागि निर्माण कम्पनीले टिप्पर, जेसिबि, लोडर र ग्रेडर उपलव्ध गराउने सर्वदलीय÷सर्वपक्षीय सहमति भएको छ । असोज ६ गते चारलेन सडक निर्माण कम्पनीले ती यान्त्रिक उपकरणहरु सम्बन्धित पालिकालाई उपलव्ध गराउने र सम्बन्धित पालिकाले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको समेत प्रत्यक्ष उपस्थितिमा नदीजन्य पदार्थको व्यवस्थापन गरी खाडल पुर्ने सहमति भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा चारलेन सहजीकरण समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा भएको बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अब पनि ठेकेदारको विश्वास गरेर खाडल नपुरिने भन्दै आवश्यक उपकरण उपलव्ध गराए आफुहरुले ग्राभेल व्यवस्थापन गरेर आफुहरुकै प्रत्यक्ष निगरानीमा खाडल पुर्ने प्रस्ताव राखेका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले पनि त्यसरीनै खाल्डा पुर्न तुलसीपुर उपमहानगरपालिका सहमत हुने बताएका थिए ।

घटस्थापनासम्म घोराही–तुलसीपुर चारलेन सडक अन्तर्गत सडकका सबै खाल्डाहरु पुरी सक्ने उपमहानगरपालिकाहरुले प्रतिबद्धता व्यक्त गरेपछि घटस्थापनाको भोलिपल्ट असोज १० गते सहजीकरण समितिको अर्को बेठक बस्ने छ । सो बैठकले यो अवधिको कार्य समीक्षा गर्ने तथा विजया दशमीको शुभकामना आदानप्रदान गर्ने पनि निर्णय भएको छ ।

बैठकमा प्रमुख घोराही र तुलसीपुर उपमहानगरपालिकाका प्रमुखद्वय नरुलाल चौधरी र टिकाराम खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख वीरबहादुर वली, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, परीयोजनाका कन्सल्टेन्ट ईश्वर अमागाइ, निर्माण कम्पनीका शेखर शर्मा, यातायात व्यवसायी शिवराज पन्थी, दाङ उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सहजीकरण समितिको अर्को बैठक आउँदो ११ गते विहान ८ बजे जिल्ला समन्वय समितिमा बस्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस