तुलसीपुर उपमहानगरका मेयरद्वारा संविधान दिवसका अवसरमा शुभकामना व्यक्त

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा नगरवासी र सम्पूर्ण राष्ट्रप्रेमी नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

दिवसका अवसरमा आज दिएको शुभकामनामा मेयर खड्काले स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता सहितको सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित र लोकतन्त्रको लागि संघर्ष, त्याग र बलिदानीको माध्यमबाट नेपाली जनताद्वारा निर्मित नेपालको संविधान, २०७२ को सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

‘हजारौं नेपालीहरुको स्वविवेक, बलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान मध्ये एक हो । सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित, धर्मनिरपेक्षता, कानूनको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, मौलिक अधिकार, वालिग मताधिकारको व्यवस्था, समावेशी समानुपातिक प्रतिनिधित्व, संवैधानिक आयोगहरुको व्यवस्था नेपालको संविधानको मूलभूत विशेषताहरु रहेका छन् ।’ शुभकामना पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै ‘हाल नेपालको संविधान कार्यान्वयनको दिशामा अघि बढिरहेको छ । संविधान निर्माण पश्चात दुई पटक स्थानीय निकायको निर्वाचन भइसकेको छ भने प्रदेश र संघको दोस्रो निर्वाचनको मिति समेत सरकारले तोकिसकेको छ । राज्यको पूनःसरंचना सहित संविधानमा उल्लेख भएका विभिन्न मौलिक हकहरुको कार्यान्वयनको लागि केही कानुन निर्माण भएका छन् भने कति निर्माण गर्नुपर्ने आवश्यक रहेको छ । संविधान कार्यान्वयनको यो समयमा हामी सम्पूर्ण देशप्रेमी नेपाली जनता संविधानको मूल मर्मलाई आत्मसाथ गर्दै आ(आफ्नो स्थानबाट राष्ट्रिय हितको पक्षमा उभिन जरुरी छ ।’ खड्काद्वारा हस्ताक्षरित शुभकामनामा पत्रमा उल्लेख छ ।

उनले अन्त्यमा भनेका छन्, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सबै राष्ट्रप्रेमी जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस