तुलसीपुर। मौसम परिवर्तन भएसँगै बालवालिकाहरुमा भाइरल ज्वरो बढी मात्रामा देखिरहेको छ । भाइरल ज्वरो भनेको मौसम परिवर्तनसँगै विभिन्न किसिमका भइरसहरुबाट आउने एक प्रकारको ज्वरो हो ।
तुल्सी हस्पिटलका प्रमुख एवं नवजात शिशु तथा वालरोग विशेषज्ञ डा. किशोर खत्रीका अनुसार प्रकृतिमा मौसम परिवर्तनको क्रममा इन्फ्लुएन्जा नामको भाइरस हुन्छ जुन जोडो या गर्मी दुवै मौसममा सक्रिय रहेको हुन्छ । अहिले २ महिनादेखि २ वर्षसम्मका बालवालिकाहरुमा भाइरल ज्वरो देखिरहेको छ । जसका कारण उनीहरुमा नाक बग्ने, ज्वरो आउने, स्याँ–स्याँ बढ्ने, पाचनप्रणालीमा समस्या, पखाला लाग्ने, वान्ता हुने, पेट फुल्लिने जस्ता समस्याहरु हुने गर्दछ भने अलि ख्याल नपुर्याउँदा निमुनिया समेत हुन सक्ने नवजात शिशु तथा वालरोग विशेषज्ञ डा. किशोर खत्री बताउँछन् ।

हामीले भाइरल ज्वरोका विरामीहरुलाई लक्षणअनुसारको उपचार गर्ने गर्दछौं । विरामी बालवालिकाहरुमा अवस्थाअनुसार ३ देखि १० दिनसम्म पनि लक्षण देखिने गर्दछ । तर बालवालिकामा भाइरल ज्वरोको लक्षण देखिने बित्तिकै अभिभावक आत्तिनु नपर्ने खत्रीले बताए ।
बालवालिकामा भाइरल ज्वरो आएमा पानी पट्टी गर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएमा झोल सिटामोल खुवाउने, त्यस्तैगरी बच्चालाई ज्वरो बढी भएमा स्याँस्याँ बढिरहेको छ, शरीरमा कम्पना आएको छ, कोखा हानिरहेको छ, पेट फुल्लिएको छ, आँखा बढेको छ भने तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्दछ ।
बच्चाले समयमा नै उपचार पाएन भने जटिल समस्या निम्त्याउन सक्दछ । जस्तोकि निमुनिया हुनसक्ने, रोगसँग लड्ने क्षमता घटाउने, पखाला लागेर शरीरमा पानीमा मात्रा कम भइ बच्चाको ज्यान समेत जान सक्दछ, मष्तिस्क रोग पनि लाग्न सक्दछ त्यसैले माथि उल्लेखित लक्षण देखिएमा जतिसक्यो चाँडो स्वास्थ्य संथामा लैजान सुझाव दिन्छन् डा. खत्री ।
उनकाअनुसार मौसम परिवर्तन हुने क्रममा प्रयाःजसो ५ वर्ष मुनिका बालवालिकाहरु र ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुलाई भाइरल ज्वरोले असर गर्दछ । जाडो र गर्मी मौसम परिवर्तनको क्रममा नै भइरल ज्वरोको प्रभाव पर्ने गर्दछ । यो एक भाइरस हो ।
यसबाट बच्ने उपाय
१. फ्लुको सट लगाउने, यो ५ वर्षमुनिको बच्चालाई बुस्टरसहित वर्षमा दुई जोड दिनुपर्छ भने ५ वर्षभन्दा माथिकोलाई वर्षमा एक पटक लगाए पुग्छ ।
२. रुघाखोकी लागेको व्यक्ति बच्चाको नजिक नजाने,
३. खानपानमा ध्यान दिनुका साथै दैनिक ३/४ पटक सावुन पानीले हात धुने,
४. बालवालिकाहरुलाई भिडभाडमा नलैजाने, मास्कको प्रयोग गर्ने,
५. विशेषगरी बालवालिकाहरुलाई बाहिरको खाना नखुवाउने, गर्मी मौसममा झोलिलो पदार्थ खुवाउने गर्नुपर्छ ।
यो समय भनेको भाइरल ज्वरो आउने समय भएकोले यस हस्पिटलमा लगभग ७०/८० प्रतिशत विरामीहरु भाइरल फ्लुका बिरामीहरु भर्ना भएका छन् । हाल दाङसहित सल्यान, रोल्पा, रुकुम, प्युठानका बालवालिकाहरुलाई भाइरल ज्वरोले हिट गरेको छ । त्यसैले बालवालिकाहरुलाई साधारण ज्वरो मात्र आएको छ भने घरमै उपचार गर्नुहोस, सिटामोल खुवाउनुस्, झोलिलो पदार्थ खुवाउनु सुझाव दिएका छन् ।
त्यस्तै बच्चालाई कुनै खतराका लक्षण जस्तैः धेरै ज्वरो आएको छ, पेट फुल्लिएको छ, शरीरमा अनावश्यक कम्पनहरु आइरहेको छ, बच्चाले राम्रोसँग दुध चुस्न सक्दैन, वान्ता भइरहेको छ भने तुरुन्तै नजिककौ स्वास्थ्य संस्थामा लैजान आग्रह गरेका छन् ।


