काठमाडौं । बैंकहरूले करिब ६ महिनादेखि स्थिर राखेको निक्षेप ब्याजदर खुला छाड्ने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघको सञ्चालक समितिको बैठकले ब्याजदर वृद्धि गर्ने निर्णय गरेको हो।
‘अब बैंकहरूले आफ्नो आवश्यकता अनुसार आफैँले ब्याजदर बढाउने वा नबढाउने निर्णय गर्न सक्छन्,’ नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने।
अब बैंकहरूले निक्षेपको ब्याजदर १२.०३ प्रतिशतसम्म दिने भएका छन्। हाल बैंकहरूले मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले निक्षेपको ब्याजदर निर्धारण गर्दा अघिल्लो महिना दिएको अधिकतम ब्याजदरको १० प्रतिशत बिन्दुले बढाउन सक्ने व्यवस्था छ।
यही अनुसार ब्याजदर १२.०३ पुग्नेछ। हाल रेमिट खातामा भने १२.०३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन्। रेमिट खातामा समेत ब्याजदर १३.०३ प्रतिशतसम्म पुग्ने देखिन्छ।
बैंकहरूले संस्थागत निक्षेपकर्तालाई भने मुद्दती निक्षेपको भन्दा दुई प्रतिशतले कम ब्याजदर दिनुपर्ने व्यवस्था छ।
बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायमै रहेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ।
चालु आवको दुई महिनामै राष्ट्र बैंकले १७ खर्ब २३ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा तरलता प्रवाह गरेको छ।