काठमाडौं । आगामी ४ मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यक्रमअनुसार २३ असोजमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।
यी सबै निर्वाचन कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संचालन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याललेले जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार हुन पाउने छैनन् ।


