बिजौरी । तुलसीपुर उपमहानगरपालिका— ५ को मुख्य बजारमा भाग्यलक्ष्मी ट्रेडर्सको भवनमा धेरै व्यापारिक प्रतिष्ठान मात्रै छैनन्, राष्ट्रिय वाणिज्य बैंक पनि त्यहिँ भवनमा छ । व्यस्त बजारमा बनेको सो भवनमा पार्किङका लागि अन्डरग्राउण्ड वेसमेन्ट रहेको छ । तर वैंककै कर्मचारीका लागि समेत त्यहाँको वेसमेन्टमा पार्किङको व्यवस्थापन गरिएको छैन ।
बैकमा आउने ग्राहकदेखि सो भवनमा रहेका विभन्न पसलहरुमा आउने ग्राहकहरुको पनि पार्किङ स्थल तुलसीपुर—अमिलिया राजमार्गकै किनारा बनेको छ । राजमार्ग सडकको आधाभन्दा बढी क्षेत्र पार्किङकै लागि प्रयोग भएको छ । तुलसीपुर उपमहानगरपालिकाबाट पार्किङका लागि भनेर नक्सा पास गरियो । तर सो वेसमेन्ट पार्किङका लागि प्रयोग नहुँदा पनि सरोकारवाला निकायले कुनै चासो देखाएका छैनन् ।
तुलसीपुर उपमहानगरपालिकाकै ‘ग’ लाइनमा बनेको एउटा अन्डरग्राउण्ड पार्किङ सुविधा भएको भवनमा नविल बैंक भाडामा बसेको छ । तर सो भवनको पार्किङ एरीयामा पनि न बैंक कर्मचारीका सवारीसाधनहरु पार्किङ हुन्छन् नत ग्राहकहरुलाईनै त्यहाँ पार्किङको सुविधा उपलव्ध छ । बैंकमा कारोबार गर्न कम्तिमा पनि आधा घण्टा समय लाग्छ । त्यो समयमा सवारी पार्किङ स्थल भनेको मुख्य सडकनै हो । आधाभन्दा बढी सडक दुवै तर्फबाट पार्किङले ढाकिँदा सवारीचालक मात्र होइन, पैदल यात्रुहरुलाई पनि समस्या भएको छ । ट्राफिक प्रहरीलाई पनि यसको व्यवस्थापन गर्न निकै चुनौतिपूर्ण अवस्था छ ।
तुलसीपुर उपमहानगरपालिकाकै बसपार्क पिपलबोट नजिक गुरुङ बस्त्रालयको भवन पनि यस्तै प्रकृतिको छ । भूमिगत पार्किङको प्रयोजनका लागि उपमहानगरपालिकाबाट नक्सा पास भएको हो । तर त्यहाँ पनि भूमिगत पार्किङको व्यवस्थापन हुन सकेको छैन । लामो दुरी तथा छाटो दुरीका सार्वजनिक बस चल्ने सो क्षेत्रमा जथाभावि सडकमा पार्किङ हुँदा आमनागरिकलाई सास्ती भएको छ । यसले दुर्घटनाको समस्या पनि निम्त्याएको छ ।
तुलसीपुर सिटी हस्पिटलको भवन पनि अन्डरग्राउण्ड पार्किङ सुविधाको हो । भव्य महलको वेसमेन्टमा पार्किङको व्यवस्थापन हुन सकेको छैन । शुल्क तिरेरै पनि बिरामीका अभिभावकहरुले त्यस क्षेत्रमा पार्किङ गर्न पाएका छैनन् । सडकमै भैरहेका छन् पार्किङ । दैनिक सयौ बिरामीका अभिभावकहरुले सडकमै पार्किङ गर्न बाध्य छन् । एम्बुलेन्सलाई समेत यो क्षेत्रमा सहज रुपमा आवतजावत गर्न समस्या भएको छ । यो विषयमा पनि सरोकारवाला निकाय गम्भीर छैनन् । त्यसैगरी तुलसीपुर सिटी हस्पिटलकै सामुन्नेमा बन्दै गरेको एउटा भव्य भवन पनि अन्डरग्राउण्ड पार्किङ सहितको बन्दै छ । सायद त्यहाँको संरचना पनि भूमिगत पार्किङका लागि प्रयोगमा आउने छैन ।
तुलसीपुर उपमहानगरपालिकामा वि.सं. २०७१ सालयता निर्माण भएका अधिकांश भवनहरुमा भवन निर्माण संहिता अनुरुप नक्सा पास भएका छन् । तर पार्किङका लागि भने कुनै पनि स्थानलाई प्रयोजनमा ल्याइएको छैन । कतिपय भूमिगत संरचनाहरु त्यत्तिकै प्रयोगहीन अवस्थामा छन् भने कतिपय संरचना भाडामा दिइएको छ ।
‘खासमा पछिल्लो समयमा वेसमेन्टसहित बनेका संरचनामा वेसमेन्ट क्षेत्रमा पार्किङ गर्नुपर्ने हो, तर त्यसो भएको छैन’, तुलसीपुर उपमहानगरपालिका पूर्वाधार प्राधिकरणका प्रमुख पवनकुमार योगीले भने । उपमहानगरपालिकाले नक्सा पासकै समयमा पार्किङका लागि भनेर उल्लेख गरेका स्थानमा पनि पार्किङ प्रयोजनमा नआउनु दुखको कुरा भएको पनि योगीले बताएका छन् । निजी सम्पत्ति प्रगोगका सन्दर्भमा उपमहानगरपालिकाले कानुनी कारवाहि भने गर्न नसक्ने योगीको अभिव्यक्ति थियो । नगरबासी स्वयम् यसमा सचेत हुनुपर्ने पनि तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
यो समस्यासँगै मुख्य सडकखण्डमै थुपारिएका निर्माण सामाग्रीहरु तथा फुटपाथको व्यापारले पनि तुलसीपुरमा ट्राफिक समस्या ल्याएको छ । यसले ट्राफिक समस्या मात्र होइन, तुलसीपुर उपमहानगरपालिकाको सुन्दरतालाईनै धमिल्याएको बजारबासीले बताएका छन् । – साक्षी खबरबाट


