अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसका अवसरमा विचार गोष्ठी कार्यक्रम

बिजौरी । चौधौं अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसका अवसरमा आज बिजौरीमा विचार गोष्ठी कार्यक्रम गरिएको छ ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं सहायक वन अधिकृत एवं सूचना अधिकारी खिम बहादुर केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खड्काले प्रकृतिमा रहेका जीवजन्तुहरुको संरक्षण गर्नु नै मानव अस्तित्व रहने बताएका छन् ।

उक्त अवसरमा आयोजना गरिएको विचार गोष्ठीमा बोल्दै उनले गिद्ध संरक्षण गर्न ठूला ठूला रुखहरु विशेषगरी सिमलको रुख जोगाउनुका साथै गिद्धहरुको सुरक्षित वासस्थानका लागि वन तथा वातावरणलाई जोगाउनु पर्ने बताए । जहाँ गिद्धको वास हुन्छ त्यहाँको वातावरण सफा रहनुका साथै वरपर रहेको फोहोर विस्थापन गर्न सकिने खड्काले बताए ।

त्यस्तै गिद्धलाई संरक्षण गर्न सकेमा गिद्ध संरक्षण क्षेत्रलाई पर्यटन क्षेत्रसँग विकास गर्ने गरी आफुले सहयोग गर्ने बताए । मानव जीवनको लागि पनि बन र वातावरण जोगाउन अति आवश्य रहेको उनको भनाई थियो ।

“वन्यजन्तुको संरक्षण गरौ, पर्यावरण संरक्षणमा टेवा पुर्याउ” भन्ने नाराका साथ पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङको आयोजना तथा डिभिजन वन कार्यालय दाङको सहआयोजना एवं नेपाल पंक्षी संरक्षण संघ काठमाडौंको सहयोगमा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रममा सवडिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख कमल पुन, झुल्के सामुदायिक वनका अध्यक्ष नन्दराम रोका, सम्झना सामुदायिक वनका अध्यक्ष युवराज नेपाली लगायतले बोलेका थिए । गिद्ध संरक्षण सचेतना कार्यक्रमको बारेमा भुपाल नेपालीले प्रकाश पारेका थिए ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका सदस्य बालिका तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सागर अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस