आजदेखि कर्मचारी नियुक्ति, सरुवा, बढुवा गर्न नपाउने

काठमाडौं । सरकारले आज (सोमवार)देखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगले गएको भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो ।

आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गएको भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

निर्वाचन आयोगले यसअघि नै चुनाव प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लामा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीलाई चुनाव प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लामा कमिटी पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

निर्वाचन आयोगले चुनावको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आउँदो मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुँदैछ ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस