टिकटक बनाउने क्रममा भीरबाट लडेर एकको मृत्यु

तुलसीपुर । दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नबीन केसी रहेका छन् ।

शनिबार राती करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ साततले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट तल खसेका थिए ।

भीरबाट खसेर बेपत्ता भएको भन्ने खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुर र गोटी खोलाको प्रहरी टोली घटनास्थल पुगेको थियो । करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारि राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिए । केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस