
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई हटाएर डा. ओमप्रसाद अर्याललाई नियुक्त गर्यो ।
मन्त्रालयले आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने गरि अर्थोपेडिक सर्जन डा. अर्याललाई नियुक्त गरेको पत्र जारी गरेको केही मिनेटमै संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. अर्यालको दरबन्दी रहेकै स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिर्ता बोलायो ।
डा. अर्याल संघ अन्तर्गतका डाक्टर हुन् । उनको दरबन्दी प्रतिष्ठानमै छ । काजमा उनलाई प्रादेशिक अस्पताल ल्याईएको हो । त्यसैले पनि प्रतिष्ठानमै तानिएको स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीका स्वकीय सचिब अमित शर्माले बताए । प्रतिष्ठानले पनि डा. अर्यालको माग भएको भन्दै सोही अनुसार काज फिर्ता गरिएको शर्माले प्रतिक्रिया दिए ।‘
प्रादेशिक अस्पतालका १७ जना कन्सलटेन्ट मध्ये २ जना मात्रै प्रदेशका कर्मचारी हुन् । यस अघिका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह पनि संघ अन्तर्गतकै डाक्टर हुन् । प्रादेशिक अस्पतालका अधिकांस संघ अन्तर्गतका डाक्टरको प्रतिष्ठानमै दरबरन्दी रहेको छ । तर, डा. अर्याललाई मात्रै सरुवा गर्नु शंकास्पद भएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुका स्वीकीय सचिब राजेश चौधरीले बताए ।
अस्पतालमा प्रदेश अन्तर्गतका डा. प्रताप पोखरेल र डा. पदमराज अधिकारी मात्रै रहेको छन् । तुलसीपुरमा हाड तथा नशा रोग बिशेषज्ञ ओम अर्याल हुँदा विरामीलाई नेपालगञ्ज रेफर गर्नुपर्ने अबस्थाको अन्त्य भएको थियो । तर, यसरी एउटा डाक्टरलाई यहाँबाट लैजादा समस्या पर्ने उनले बताए ।
अस्पताल विगत ६ बर्षदेखि निमित्तको भरमा चल्दै आएको छ । यसअघि डा. भोलाराम श्रेष्ठ थिए । त्यसपछि अहिलेसम्म पनि अस्पतालले मेसु पाउन सकेको छैन ।

