काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतले पारित गरेको छ ।
बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको हो ।
सङ्घीय संसद्को दुवै सदनबाट पारित यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकोमा राष्ट्रपतिबाट साउन २९ गते आठ बुँदे सन्देशसहित प्रतिनिधि सभामा फिर्ता भएको थियो । यो विधेयक गएको साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो ।
जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्नेको सङ्ख्या अहिलेसम्म एक लाख ९० हजार सात सय २६ रहेको र उनीहरूका सन्तति गैरनागरिकका रूपमा रहेकाले त्यस्ता व्यक्तिलाई नागरिकता प्रदान गर्ने विधेयकको उद्देश्य छ ।
विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् । पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।