
दाङ । दाङमा प्रहरीले थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई दाङ पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा ८ निवासी २० बर्षीय प्रतिक बस्नेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस लिने बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर नगद रकम दिएपछि छुटाईदिने भन्दै ५० हजार लिएको डिएसपी गौतमले बताए ।
प्रहरीले बस्नेतलाई प्यूठानको बिजुवारबाट पक्राउ गरेको हो ।
अभिभावकलाई बोलाएर जिप्रका नजिकैको होटलमा बसेर रकम लिएर फरार भएका बस्नेतलाई पक्राउ गरिएको हो । बस्नेतले थुनुका आफन्तलाई फोन गरेर जिल्ला प्रहरी कार्यालयको मुद्धाफाटबाट फोन गरेको भनेर झुक्याउने गरेको प्रहरीले जनाएको छ ।