साउनमा १ अर्ब ८३ करोडको बिजुली भारत निर्यात

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो ।

गत आव २०७८–७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो ।

योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने छ ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस