आज नागरिकता विधेयक संसदमा पास गर्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक आज (विहीबार) संसदमा पुनः पास गर्ने तयारी भएको छ ।

प्रतिनिधि सभाको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेस हुने उल्लेख छ । आजको संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयकमाथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् । लगत्तै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो । नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशोधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सरकारले साउनको १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको थियो । तर राष्ट्रपतिले विज्ञहरूसँग छलफल गरेर अस्ति आइतवार प्रतिनिधि सभामै फिर्ता पठाइदिएकी थिइन् ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस