
बिजौरी । बाँके जिल्लाको नेपालगन्जकी डोल्मा सुनारलाई आफ्नो पुरानो रोग निको हुनमा आशा पलाएको छ । निम्न वर्गीय परिवारकी डोल्माले यसअघि पनि धेरै सरकारी स्वास्थ्य संस्थामा धाइन्, कतै निको नभएपछि उनी तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा आइपुगेकी हुन् ।
उनी आफ्नो हातपाखुरामा भएको घाउको उपचारका लागि बिजौरी आइपुगेको बताइन् । धान गोड्ने क्रममा पाछेको पाखुरामा क्रमश घाउ बढ्दै गयो, धेरै ठाउँ उपचार गर्दा निको भएन । ‘अलि चिलाउन कम भएको छ, आशा छ, मलाई निको हुनेछ’, जलौका कर्म पद्धतिबाट उपचार गराउँदै आएकी सुनारले साक्षीखबरलाई भनिन् । बिजौरीस्थित सो अस्पतालले करिब डेढ महिनाअघि जलौका कर्म अर्थात् जुकालाई टोकाएर रगत चुसाउँदै उपचार गर्ने प्रविधि सुरु गरेपछि सुनार जस्तै कम्तिमा ४० जनाभन्दा बढिले यो सेवा पाइसकेको उपचारमा संलग्न चिकित्सक डा.मदन भण्डारीले बताए ।

‘हामीले यस अवधिमा करिव ४० जनाको यहीँ विधिबाट उपचार गर्दै आएका छौं, धेरै पुराना इन्फ्याक्सनसहितका घाउहरु निको भएका छन्’, डा.भण्डारीले भने । खासमा लामो समयको घाउ, छालाका विभिन्न दीर्घ समस्या, डण्डिफोर, शोरीयाशिस, रक्तनली अवरोध हुने समस्या लगायतका रोगहरुमा जलौका विधिबाट उपचार सम्भव हुने पनि उनको भनाइ थियो । उनको भनाइमा यो फरक पद्धतिको जुका हो । जसले शरीरमा कुनै खराब गर्दैन, शरीरमा भएको खराब रगत मात्रै आफुले चुसिदिन्छ र रोग निको हुन सहयोग पु¥याउँछ ।
भारतबाट काठमाडौं हुँदै यहाँ ल्याइएको यो जुका हिरुडो मेडिसाइनल्स प्रजातिको हो । एक जना बिरामीको उपचारका लागि कम्तिमा ३ देखि ५ वटासम्म जुकाले टोकाइन्छ । अवस्था हेरेर हरेक ५ दिनमा यो प्रक्रिया दोहोर्याउन सकिने पनि ति चिकित्सकले बताएका छन् ।
प्रादेशिक आयुर्वेद चिकित्सालयमा जलौका अर्थात् लिच थेरापीबाट उपचार सेवा दिन शुरु गरेपछि अहिले बिरामीहरू सेवा लिन आउने क्रम पनि बढेको छ । डोल्माले पद्धतिबाट शुरुमा उपचार गर्दा डर लागे पनि अहिले अलि सुधार भएको बताइन् । उनले भनिन्, ‘शुरुमा जुका शरीरमा राख्दा डर लागेको थियो तर यसले टोके पनि केही थाहा पाइँदैन । यो रोगको उपचार धेरै गरे निको भएको थिएन । यहाँ राम्रो उपचार हुन्छ भन्ने थाहा पाएर आएकी थिएँ । यहाँ त जुकाले टोकाएर उपचार हुँदो रहेछ। धेरै चिलाउँथ्यो । यो तरिकाले उपचार गर्दा चिलाउन कम भएको छ । अस्पतालका अनुसार पहिला छिटफुट रूपमा हुँदै आए पनि पछिल्लो डेढ महिनादेखि नियमित रूपमा शुरु भएको हो ।
डा. भण्डारीकाअनुसार शुरुमा जुकाको टोकाइबाट उपचार गराउँदा बिरामीहरू डराउने भए पनि पछि ठिक भएपछि उनीहरूले नै अरू बिरामीहरू ल्याएर आउने गर्दछन् । उनले भने, ‘शुरुमा बिरामीलाई यो पद्धतिबाट उपचार गर्दा मनाउनै गाह्रो हुन्छ । जब उनीहरूले उपचार गरेर राम्रो हुन्छ अनि अरूलाई पनि उपचारका लागि ल्याउने गर्दछन् । जसले गर्दा यो पद्धतिबाट उपचार गर्नेको संख्या विस्तारै बढ्दै गएको छ ।’

यो उपचारबाट शरीरमा भएको दूषित रगत जुकाले खाने र त्यसले गर्दा बिरामीलाई समस्या बिना उपचार गर्न सहज हुने पनि बताए । उनले भने, ‘शरीरमा जुकाहरू राखिन्छ तर अन्य पद्धतिबाट उपचार गर्दा बिरामीलाई दुखाइ हुनसक्छ । यो पद्धतिबाट कुनै पनि दुखाइ हुँदैन । जुकाले हाम्रो शरीरमा रहेको दूषित रगत मात्र खान्छन् ।’ मुख्य गरी छालाका समस्या भएका बिरामी, दुखाइको समस्या, नसाका समस्या भएका बिरामीलाई यो पद्धतिबाट उपचार गरिने पनि उनले बताए ।
अस्पतालका निमित्त प्रमुख ठाकुरकाअनुसार जलौका पद्धतिको उपचार परापूर्वकालदेखि भए पनि नेपालमा भने कम मात्रामा हुने गरेको छ । नरदेवी आयुर्वेद चिकित्सालय, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्र काठमाडौँपछि प्रादेशिक आयूर्वेद चिकित्सालय बिजौरीमा यो सेवा शुरु भएको पनि उनले बताए । आयुर्वेदले मात्र नभई विभिन्न अनुसन्धानबाट पनि अहिले आधुनिक चिकित्सकहरूले यसको प्रभावकारिता स्वीकार गरेको उनको भनाइ छ ।
श्रीलंका, भारत लगायत विभिन्न देशमा यो उपचार प्रभावकारी रूपमा बढेको पनि उनले बताए । उनले भने, ‘कुनै पनि बिरामीलाई उपचार गर्दा धेरै पीडा हुनसक्छ तर यो पद्धतिबाट उपचार गर्दा उनीहरूलाई कुनै पीडा हुँदैन । यी जुकाले हाम्रो शरीरमा भएको अशुद्ध रगत मात्र खाने भएकाले यो पनि एउटा विशेषता हो ।’
अहिले यो प्रविधिबाट उपचार गराउन अस्पतालले ५५ वटा जुका ल्याएर पालेको छ । लेउ खुवाएर जुकालाई पालिंदै आएको अस्पतालले जनाएको छ । बिरामीको अवस्था, आवस्यकता हेरेर जुकाको संख्या पनि बढाउंदै लैजाने अस्पतालका निमित्त निर्देशक डा. सन्तोष ठाकुरले बताएका छन् ।

एउटा जुकाको मुल्य तीन सय रुपैया पर्ने पनि अस्पतालले जनाएको छ । तर बिरामीलाई आवस्यकता अनुसार एक सय रुपैया शुल्कसम्म लिइने गरेको सो अस्पतालले जनाएको छ । तर अस्पतालमै भर्ना भएका विरामी तथा न्युन आय भएका विरामीहरुलाई निशुल्क रुपमा पनि यो सेवा दिइदै आएको बताइएको छ ।
त्यसो त पछिल्लो समयमा प्रादेशिक आयुर्वेद अस्पतालले रोग निदानलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधि पनि अनुशरण गर्न थालेको छ । आधुनिक उपकरणहरु सहितको प्रयोगशाला तथा रेडियोलोजी सेवा समेत अस्पतालले सुरु गरेको छ । सुगरका विरामीलाई नियमित रक्त जाँच तथा मुटुको इसिजि समेतका सुविधाहरु सो अस्पतालले उपलव्ध गराउन थालेपछि पछिल्लो समयमा बिजौरी अस्पताल बिरामीको गन्तव्यका रुपमा परिणत पनि भएको छ ।
अस्पतालमा पञ्चकर्म सेवा फुलफेजमा चलेको छ भने विशेषज्ञ सहित फिजियो थेरामी सेवा सञ्चालन भएपछि ढाड कम्मरका दीर्घरोगीहरु समेत सो अस्पतालमा सेवा लिन आउन गरेको अस्पतालकी फिजियोथेरापिष्ट डा. नेहा रेग्मीले बताएकी छिन् । अस्पताल परिसरभित्र रहेको खुल्ला नागरिक व्यायमशालामा पनि सेवाग्राहीहरुको भिड छ । अस्पताल भित्रकै आफ्नै फार्मेशीले पनि विरामीहरुलाई सहज भएको बताइएको छ । – साक्षी खबरबाट