
काठमाडौं । सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज(आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको बताए ।
सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । तर मर्यादाक्रम अनुसार तलब मिलान गर्न भन्दै अर्थ मन्त्रालयले अधिकृतस्तरका कर्मचारीहरुको तलब २४.२६ प्रतिशत, उपसचिवहरुको २३.३५ र २३.६३ र सचिवहरुको तलब १८.२१ प्रतिशतले वृद्धि गरेर नयाँ नयाँ तलवमान मन्त्रिपरिषदमा पठाएको सार्वजनिक भएको थियो । नायब सुब्बा र त्योभन्दा तलका कर्मचारीहरुको तलबमा भने १५ प्रतिशत वृद्धि नै लागू गरेर तलवमान प्रस्ताव गरिएको थियो ।
मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।