नेपाल संस्कृत विश्वविद्यालय तालाबन्दी प्रकरण: व्यक्तिगत स्वार्थमा सीमित

बेलझुण्डी । एउटा विद्यार्थी संगठनले दृश्य चौध वटा माग र जागिर प्रमोशन, सरुवा लगायतका केही अदृश्य÷अघोषित माग राख्दै नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका विभिन्न विभागमा लगाएको तालाबन्दी चार महिनासम्म खुल्न सकेको छैन । पटक पटक केन्द्रीय तह तथा स्थानीय तहमा भएका वार्ताले मुल ढोकाको ताला खुले पनि विभागीय ताला नखुल्दा विश्वविद्यालय ठप्प छ ।

चार/चार महिनासम्म न कुनै काम, न दामको अवस्थाले कर्मचारीहरु डिप्रेशनमा जान थालेका छन् । उधारो खाताले कर्मचारीहरुलाई बेचैन बनाएको छ । नेपाल संस्कृत विश्वविद्यालयका कुलपति स्वयम् सत्तारुढ दलका प्रधानमन्त्री शेर बहादुर देउवा छन् । तर उनकै पार्टीको भातृसंगठन नेपाल विद्यार्थी संघले लगाएको ताला खुलाउन जिल्ला पार्टी, केन्द्रीय पार्टी तथा स्वयम् प्रधानमन्त्रीबाट समेत पहल हुन नसक्नुलाई सर्वसाधारण नागरिकले समेत अचम्म मानेका छन् । यसलाई हदैसम्मको वेवास्ताको पराकाष्ठ भनिएको भनिएको छ ।

जुन विद्यार्थी संगठनले नेपाल संस्कृत विश्वविद्यालयमा तालाबन्दी गरेको छ, उही विद्यार्थी संगठनका नेतालाई बिना प्रतिस्पर्धा ‘जब’ नदिएसम्म ताला खुल्न नसक्ने विश्वविद्यालय आधिकारिक श्रोतले बताएको छ । अन्य माग त मिडियामा देखाउनका लागि मात्रै थिए । ती अधिकारीकाअनुसार यो माग पहिलो पटक आएको होइन, यस्ता अघोषित मागले धेरैलाई बिना प्रतिस्पर्धा प्रमोशन, नियुक्ति तथा विभागीय जिम्मेवारी समेत सुम्पिएको छ । तालाबन्दी विश्वविद्यालयको हितका लागि कहिल्यै भएन ।

त्यसो त बेलझुण्डी विश्वविद्यालय घोराही अथवा तुलसीपुरमा हुन्थ्यो भने पनि खुलेआम तालाबन्दी र भागवण्डाको नांगो नाच हुन सक्दैनथ्यो, तर अनकण्टार स्थानमा छ बेलझुण्डी, अर्थात् राज्यको नजरभन्दा केही टाढा । यसअघिको अभ्यासमा नेपाल संस्कृत विश्वविद्यालयमा सेवा आयोग गठन भएको भए पनि सो आयोगले निष्पक्षरुपमा कर्मचारी पदाधिकारी छनौट कहिल्यै गरेन । यहाँसम्म कि पैसा लिएर जागिर बेच्ने काम पनि यसअघिका पदाधिकारीले गरेको आरोप लगाइदै आएको छ । यहि परम्परालाई दिनैका लागि फेरी यो चार/चार महिना लामो तालाबन्दी हो ।

विद्यार्थी संगठनहरु र प्राध्यापक कर्मचारी संगठनहरुलाई नेपाल संस्कृत विश्वविद्यालयको गरीमा खस्कंदै गएकोमा कुनै चांसो छैन । आयुर्वेद अध्ययन संस्थान माताहतको विएएमएस कक्षा धरासायी बन्दा कहिल्यै त्यसलाई सुधार्न उनीहरुले आन्दोलन गरेनन् । दिक्षान्त समारोह र सिनेट सभा दाङमै होस् भनेर कहिल्यै तालाबन्दी भएन । विश्वविद्यालयमा नियमित रुपमा विद्यावारीधिको कार्यक्रम चलोस् भनेर कहिल्यै आन्दोलन कुनै संगठनबाट भएन, आन्दोलन भए कांग्रेसलाई यति प्रतिशत, एमालेलाई यति प्रतिशत, माओवादीलाई यति प्रतिशत जागिर र जिम्मेवारीको हिस्सा वितरणमै बेलझुण्डी विश्वविद्यालयका पदाधिकारीहरुले समय गुजारिरहेका छन् ।

विद्यार्थी संगठनहरु र प्राध्यापक कर्मचारी संगठनहरुलाई नेपाल संस्कृत विश्वविद्यालयको गरीमा खस्कंदै गएकोमा कुनै चांसो छैन । आयुर्वेद अध्ययन संस्थान माताहतको विएएमएस कक्षा धरासायी बन्दा कहिल्यै त्यसलाई सुधार्न उनीहरुले आन्दोलन गरेनन् । दिक्षान्त समारोह र सिनेट सभा दाङमै होस् भनेर कहिल्यै तालाबन्दी भएन । विश्वविद्यालयमा नियमितरुपमा विद्यावारीधिको कार्यक्रम चलोस् भनेर कहिल्यै आन्दोलन कुनै संगठनबाट भएन, आन्दोलन भए कांग्रेसलाई यति प्रतिशत, एमालेलाई यति प्रतिशत, माओवादीलाई यति प्रतिशत जागिर र जिम्मेवारीको हिस्सा वितरणमै बेलझुण्डी विश्वविद्यालयका पदाधिकारीहरुले समय गुजारिरहेका छन् ।

यता विएएमएसका विद्यार्थीहरुले पटक पटक आन्दोलन गरे, ताला पनि लगाए तर उनीहरुको मागप्रति कसैले सुन्दैनन् । विद्यार्थीलाई ओपिडि सेवामा प्राक्टिस गर्ने अवसर छैन, प्रयोगशाला र फार्मेसी अलि परको कुरा भयो । अनि दरबन्दीअनुसार प्राध्यापक छैनन्, होस्टल नपाएर घोराही तुलसीपुरसम्म डेरा लिएर बस्नु परेको छ, विएएमएसका विद्यार्थीहरुलाई । तर केन्द्रीय कार्यालय परीषद्मा जिर्णोद्वार गरिएको छात्रावास भवन गाइगोठका रुपमा परिणत भएको छ । भूत बंगला जस्तै छ, छात्राबास । कहिल्यै आन्दोलन भएन, विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको स्तरवृद्धिका माग राखेर । ‘इ–लाइब्रेरीको पनि उहि हालत छ, दश वर्ष अघिदेखि निर्माण थालिएर सम्पन्न भैसकेको मुख्य प्रवेशद्वार खोल्न समेत विश्वविद्यालयले सकिरहेको छैन भने समृद्ध विश्वविद्यालय कसरी निर्माण हुन सक्छ’, नेपाल संस्कृत विश्वविद्यालयकै एक जना अधिकारीले बताए ।

अस्वस्थ प्रतिस्पर्धाले गुज्रदै आएको विश्वविद्यालयमा स्वस्थ प्रतिस्पर्धाले गुणस्तरीय जनशक्ति परीकल्पनानै गर्न चाहन्नन्, प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनहरु । त्यसैले त पटक पटक सेवा आयोगको विज्ञापन खारेजी र सेवा आयोगकै औचित्यमाथि प्रश्न उठाउदै आएका छन् । अहिले पनि यस्तै अचुक माग राखेर तालाबन्दी भएको बताइएको छ ।

‘हो मैले सुने/बुझेको छु,, यसअघि पनि स्वस्थ प्रतिस्पर्धा नभएर भागवण्डामा चल्यो भन्ने, तर मैले मेरो कार्यकालमा यसरी घुमाउरो बाटो कसैलाई नियुक्ति र कसैलाई बिना प्रतिस्पर्धा प्रमोशनको अवसर दिने छैन’, तालाबन्दी बारे नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव लामिछानेले साक्षी खबरलाई भने । उनले तालाबन्दी गरेर जागिर माग्ने सिस्टमको आफुले अन्त्य गर्ने पनि अठोट गरेका छन् ।

त्यसो त नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला खोल्ने सन्दर्भमा रजिष्टार माधव अधिकारी नेतृत्वको वार्ता टोलीले काठमाडौँमा तालाबन्दी गर्ने संस्था नेपाल विद्यार्थी संघ आन्दोलन समितिका पदाधिकारीहरुसँग गरेको वार्ता पनि गर्यो । आन्दोलनरत विद्यार्थी संगठनले वार्तामा केही सहमति भैसकेपछि तपाईहरु दाङ जानुस्, तपाईहरु त्यहाँ पुग्दा तालाबन्दी खुलेको हुनेछ भनिएको थियो । तर अदृश्य माग पुरा नभएका कारण आन्दोलनरत विद्यार्थी संगठनले ताला खोलेन । ताला नखुल्दा विश्वविद्यालयलाई सालतमामी गर्न सकेन । धेरै नीतिगत निर्णय कार्यान्वयन हुन सकेका छैनन् भने विश्वविद्यालयलाई दुरगामी प्रभाव पार्ने कुनै पनि काम हुन सकका छैनन् ।

नेपाल संस्कृत विश्वविद्यालय स्रोतकाअनुसार विद्यार्थीहरुले राखेका १४ वटा मागहरु मध्ये तीन वटा माग पूरा गर्नै नसक्ने भएपछि ताला खुल्न सकेको छैन । तीन वटा माग देखिने माग हुन्, तर अर्कै माग जागिरसँग पनि जोडिएको बताइन्छ । अघिल्लो वार्तामा विद्यार्थीहरुले राखेका मागहरुमध्ये विद्यार्थीहरुलाई २०० प्रतिशत छात्रवृत्ति वृद्धि गर्ने, सेवा आयोगले खोलेको विज्ञापन खारेज गर्ने तथा अनुसन्धान केन्द्र र केन्द्रीय पुस्तकालय काठमाडौँमा सार्ने सन्दर्भका मागहरु पूरा गर्न नसकिने विश्वविद्यालय पदाधिकारीले बताउँदै आएका छन् ।

साथै विश्वविद्यालयमा भएको भनिएको अनियमितताको छानबिन पनि विश्वविद्यालयले नगरेर अख्तियारले गर्ने सन्दर्भ पनि वार्तामा उठेको थियो । ती उल्लेखित मागहरुका सन्दर्भमा वार्ता टोली सहमत हुन नसकेपछि स्थानीय राजनीतिक तहबाट ताला खोल्ने सन्दर्भमा वार्ता सुरु भएको थियो । तर त्यो पनि सार्थक बन्न सकेको छैन ।

विश्वविद्यालयले केही माग पूरा हुन सक्ने बताए पनि विद्यार्थी संघर्ष समितिले राखेका सबै मागहरुलाई विश्वविद्यालय स्वयंले चाहेर पनि पूरा गर्न नसक्ने विश्वविद्यालय उपकुलपति प्राध्यापक यादव लामिछानेले बताएका छन् । ‘अहिले हामी फेरी कुलपति समक्ष समस्या राख्न राजधानीमा छौं, विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाइराख्नु हुँदैन भन्ने हाम्रो चाहना हो’, उपकुलपति लामिछानेले भने ।

पुरा होलान् विद्यार्थीका सबै माग, खुुल्ला विश्वविद्यालय ? आम सरोकारवालाहरुले यहि सोधिरहेका छन् ।

साक्षी खबरबाट

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस