नयाँ पाईलाद्वारा डिएसपी अर्याललाई प्रशंसासहित सम्मान

बिजौरी । नयाँ पाईला पुनःस्थापना केन्द्र बिजौरीले एक कार्यक्रम गरी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याललाई प्रशंसासहित सम्मान गरेको छ । गतवर्षको असार १४मा तुलसीपुर आएका डिएसपी अर्याल सरुवा भएर रुपन्देहीको भैरहवामा जान लागेका अर्याललाई सम्मान गरेको हो ।

महिला मानव अधिकारकर्मी एवं केन्द्रका सल्लाहकार सुष्मा लामिछाने गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिएसपी अर्यालले तुलसीपुरमा लागुऔषध दुर्व्यसनी न्युनीकरणमा सबैभन्दा बढी चुनौति रहेको बताए । उनले अभिभावकको निगरानी नहुनुका कारण किशोरकिशोरीहरु लागु औषध दुर्व्यसनीमा फस्दै गएको बताए ।

बालबालिका र युवापुस्ता लागुऔषधको दुर्व्यसनीको कुलतमा फस्दै गएकाले परिवार, समाज र सरोकारवाला बढी सचेत बन्नुपर्ने अर्यालले बताए । अपराधमुक्त समाजको निर्माणका लागि नागरिकको सहयोग आवश्यक रहेको उनले बताए ।

मंगलबार गरेको सम्मान तथा विदाई डिएसपी अर्यालले तलसीपुरमा आफ्नो कार्यकालमा नागरिकबाट प्राप्त सूचनालाई जतिसक्दो छिटो सम्बोधन गरेको बताए । उनले प्रहरीले आर्थिक लाभ भन्दा सेवाभावले काम गरेपछि मात्रै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने बताए ।

त्यस्तै कार्यक्रममा तुलसीपुर वडा नं. १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले सरुवा भएर जान लागेका डिएसपी अर्यालको कामको प्रशंसा गरे । उनले उद्योग, व्यवसाय संचालनमा प्रहरीको सहयोग अपरिहार्य रहेको भन्दै डिएसपी अर्यालको कार्यकालमा आम नागरिकले सुरक्षाको अनुभूति गर्न पाएको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस घोराहीका प्राध्यापक शोभाकान्त अधिकारी, वातावरणविद् डिल्ली बहादुर रावत, बिजौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुकेश वली लगायतले बोलेका थिए ।

मोटिभेशनल ट्रेनर डिल्ली बहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी यज्ञबहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस