
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। प्राधिकरणले यसका निम्ति कुल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको हो।
देशभरका विमानस्थल सुविधा(सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यस वर्षको आफ्नो कुल ४१ अर्ब ८५ करोड रूपैयाँ बजेटमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको छ।
कहाँको विमानस्थलमा टर्मिनल भवनलाई कति बजेट
निरन्तर कार्यक्रमअन्तर्गत प्राधिकरणले संखुवासभाको तुम्लिङटार विमानस्थलमा टर्मिनल भवन बनाउन यो वर्ष ६ करोड रूपैयाँ विनियोजन गरेको छ।
अछामको साँफेबगर विमानस्थलमा बहुवर्षीय आयोजना अन्तर्गत नयाँ टर्मिनल भवन बनाउन ५० लाख बजेट विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७६र०७७ देखि निर्माण सुरू भएको साँफेबगर टर्मिनल भवनका लागि कुल तीन करोड ५० लाख रूपैयाँ लागत लाग्ने अनुमान छ।
त्यस्तै भक्तपुर नलिञ्चोकमा हेलिप्याडमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। बहुवर्षीय आयोजना अन्तर्गत नलिञ्चोकलाई यस वर्ष प्राधिकरणले एक करोड रूपैयाँ छुट्याएको छ।
डोल्पाको मसिनेचौर विमानस्थलले टर्मिनल भवन बनाउन १५ लाख रूपैयाँ बजेट पाएको छ। मसिनेचौरमा आर्थिक वर्ष २०७२÷०७३ बाट टर्मिनल भवन बनाउन बजेट विनियोजन हुँदै आएको छ।
त्यसैगरी यो वर्ष जुम्ला विमानस्थलका लागि एक करोड, अर्घाखाँचीका लागि एक करोड, डोटीका लागि दुई करोड ६५ लाख बजेट परेको छ। डोटी विमानस्थलमा आर्थिक वर्ष २०७८र०७९ बाट टर्मिनल भवन बनाउन सुरू भएको हो। यहाँ बन्ने टर्मिनल भवनको कुल लागत पाँच करोड ९ लाख रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ।
नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल टावर बनाउन प्राधिकरणले २६ करोड २१ लाख रूपैयाँ बजेट छुट्याएको छ। यो विमानस्थलमा आर्थिक वर्ष २०७६÷०७७ बाट बजेट विनियोजन हुँदै आएको छ।
रामेछाप विमानस्थलमा नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर बनाउन एक करोड ४१ लाख रूपैयाँ छुट्याइएको छ।
त्यस्तै बैतडीको पाटन विमानस्थलमा यसपालि तीन करोड ५३ लाख रूपैयाँ विनियोजन भएको छ। आर्थिक वर्ष २०७५र०७६ सालबाट यहाँ टर्मिनल भवनका लागि निरन्तर बजेट विनियोजन हुँदै आएको छ। यसको कुल लागत अनुमान पाँच करोड ६२ लाख रूपैयाँ छ।
भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवनका लागि १९ करोड ४२ लाख, इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा एक करोड ३७ लाख, महेन्द्रनगरमा एक करोड ७६ लाख, विराटनगर विमानस्थलमा २५ करोड ७६ लाख रूपैयाँ बजेट परेको छ।
प्राधिकरणले बझाङ विमानस्थलमा सुरक्षा गार्ड भवन बनाउन एक करोड ३२ लाख रूपैयाँ विनियोजन गरेको छ। बहुवर्षीय आयोजनाअन्तर्गत सिमरा विमानस्थलमा नयाँ टर्मिनल भवनका लागि २२ लाख रूपैयाँ बजेट छुट्याइएको छ।
त्यस्तै मुगुको रारा विमानस्थलको टर्मिनल भवनले यस वर्ष पाँच करोड रूपैयाँ पाएको छ। आर्थिक वर्ष २०७५÷०७६ मा आठ करोड ६५ लाख रूपैयाँमा निर्माण हुने गरी यसको निर्माण सम्झौता भएको थियो।