नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक सञ्चालनमा आएको छ ।

आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो ।

सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको जानकारी दिए । धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको २३ घण्टापछि गएराति ९ बजेतिर बाटो खुलाइएको थियो । तर आज बिहान साढे २ बजेतिर फेरि पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो ।

लामो समय जाममा पर्दा यात्रुहरु मर्कामा परेका छन् । खासगरी बालबालिका, ज्येष्ठ नागरिक र विरामीहरु समस्यामा छन् ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस