१५ दिन म्याद राखेर कक्षा ११ को विद्यार्थी भर्ना गराउन बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने कार्य साउन मसान्तसम्म गराउन विद्यालयहरूलाई निर्देशन दिएको छ ।

बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै कम्तिमा १५ दिन म्याद राखेर विद्यार्थी भर्ना गराउन विद्यालयहरुलाई निर्देशन दिएको हो ।

२०७८ को एसईई परीक्षा नतिजा प्रकाशन भएपछि शैक्षिक सत्र २०७९÷०८० का लागि कक्षा ११ मा विद्यालयहरूले आफू अनुकुल फरक फरक मितिमा भर्ना शुरू गरेपछि बोर्डले विद्यालयलाई यस्तो निर्देशन दिएको हो ।

बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ ।

साथै सबै पालिकाबाट त्यसैअनुसार समन्वय र सहजीकरण गर्न समेत सूचित गरेको छ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल गएको साउन ११ गते प्रकाशित भएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस