साउनयता कोरोनाबाट १५ जनाको मृत्यु

काठमाडौं । आइतबार ६२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । यो साउन यता कोरोना संक्रमणबाट भएको १५औं व्यक्तिको मृत्यु हो । कोरोना महामारीको चौथो लहरसँगै संक्रमितको संख्या मात्र होइन, गम्भीर विरामीको संख्या र मृत्यु पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ साउनमा देशभरमा गरी १८ जना आईसीयूमा उपचाररत थिए । १४ साउनमा यो संख्या बढेर ३३ पुगेको छ र ४ जना भेन्टिलेटरमा छन् । खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पतालमा भर्ना गर्नु परेको पाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार १ साउनयता १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १५ जनामध्ये ११ जनाले कोरोना विरुद्धको खोप नलगाएको पाइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएका थिए । ८ साउनमा मृत्यु भएका ७५ वर्षका पुरुषले खोप त लगाएका थिए, तर उनी मिर्गौलाका बिरामी थिए । ११ र १३ साउनमा मृत्यु भएका ६६ बर्षका पुरुष र ७९ बर्षका पुरुष दीर्घरोगी थिए भने १४ साउनमा मृत्यु भएकी ७४ बर्षकी महिला क्यान्सबाट ग्रसित थिइन् । अरु ११ जनाले एक मात्रा पनि खोप नलगाएको पाइएको छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस