गुरुजजुरमा ४ शैयासहितको स्वास्थ्य कक्ष स्थापना

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरस्थित गुरुजजुर माविमा चार शैयाको स्वास्थ्य कक्ष स्थापना भएको छ ।

बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि विद्यालयले नै चार लाख रुपौया लगानी गरेर विद्यालयमा चार शैयासहित स्वास्थ्य कक्ष सञ्चालनमा ल्याएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५–२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैँले उपचारका लागि शैया, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो । ‘अस्पतालमा दैनिक १५–२० विद्यार्थी बिरामी पर्न थाले’, उनले भने, ‘त्यसपछि हामीले आफ्नै लगानीमा चार शय्या स्थापना गरेर उपचार गर्न थालेका हौँ ।’

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उनले बताए । विद्यार्थी सामान्य बिरामी भएपछि स्कुलमै उपचार गर्ने गरिएको छ । सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए ।

अहिले बिरामीलाई विद्यालयबाट थप उपचारका लागि महँगो शूल्क तिनुपर्ने अवस्था रहेको छ । आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीलाई विद्यालयले नै उपचार खर्चसमेत दिने गरेको छ ।

विद्यालयमा शिशुदेखि कक्षा १२ र बाली विज्ञान सङ्कायमा गरी दुई हजार तीन सय विद्यार्थी छन् । त्यसमा ३० न्यून दृष्टि भएका विद्यार्थी छन् ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस