बिजौरी । बेलझुण्डीमा फेरी एकीकृत अस्पतालका लागि वहुवर्षीय योजनामा पैसा परेको छ । त्यहीँ पैसालाई कहिले डिपिआर, कहिले वातावरणीय प्रभाव मुल्यांकन त कहिले अभिमुखीकरण जस्तै प्रचार अभियान प्रदेश सरकारले थालेको छ । त्यसै क्रममा अघिल्लो वर्ष प्रदेश सरकारले योजनामा पारेका एकीकृत अस्पतालका सन्दर्भमा फेरी छलफल सुरु भएको छ ।
बेलझुण्डी विश्वविद्यालयमा तालाबन्दी जारी रहेको छ । यो बिचमा विश्वविद्यालयले नियमित कुनै पनि कार्यक्रम गर्न पाएको छैन । बजेट व्लक छ । उपकुलपति यादव लामिछाने र रजिष्टार माधव अधिकारी विश्वविद्यालय कसरी खोलाउने भन्ने सन्दर्भमा आआफ्नै लविङमा छन् । दुवै जिम्मेवार पदाधिकारीहरुमा अझै पनि एकमत छैन । दुवै एमाले कोटाका भएर पनि मन मिल्न नसकेको स्पष्ट देखिएको छ । यहिँबिच दाङमा आएर शिक्षाध्यक्षले फेरी पनि एकीकृत अस्पतालका विषयमा अन्तरक्रिया गरे ।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानको माताहतमा सञ्चालन भएको केन्द्रीय आयुर्वेद विद्यापीठमा आठौं व्याचको पढाइ चलिरहेको छ । आठौं व्याच चलिरहँदा पनि उनीहरुले प्रयोगात्मक कक्षाका लागि न्युनतम ओपिडि सेवा समेतमा प्राक्टिकल गर्न पाएका छैनन् । आफ्नै फार्मेसी छैन । प्रयोगशालामा प्राविधिक छैनन् । विषयगत शिक्षक नियमित पाउन सकेका छैनन् । शिक्षण अस्पतालको परीकल्पना यहाँ नहुँदै फेरी प्रदेश सरकारले विश्वविद्यालयकै भूमि प्रयोग गरेर एकीकृत अस्पतालको अवधारणा ल्याएको छ । अघिल्लो बजेट वक्तव्यको निरन्तरता हो यो ।
विश्वविद्यालयमा तालाबन्दी भएको चार महिना नाघिसक्यो । तर शिक्षाध्यक्षलाई यो विषयमा कुनै सरोकार छैन । शिक्षाध्यक्षकै सवालमा पनि धेरै माग जोडिएका छन् । तर विश्वविद्यालय खोल्नुको साटो प्रदेश सरकारको कार्यक्रमको प्रचारमा आएका छन् भीम अधिकारी ।
विश्वविद्यालयका लागि सरकारले उपलव्ध गराएको बोटानिकल गार्डेनको जति पैसा पनि एकीकृत अस्पताललाई आएको छैन । बोटानिकल गार्डेन जुन विद्यार्थिका लागि अति आवश्यक थियो । यो र त्यो विवादमा वोटानिकल गार्डेन सुरु नहुँदै कोल्याप्स भएको छ । विएएमएस मेडिकल कलेज उहिल्यै बोर्ड राखिएको थियो । कता लुकायो त्यो शिक्षण अस्पतालको वोर्ड विश्वविद्यालयले ।
सायद अर्को व्याचमा चिकित्सा शिक्षा आयोगले नेपाल संस्कृत विश्वविद्यालयलाई विएएमएस चलाउनै दिने छैन, किनकि आयोगले भनेअनुसार पूर्वाधार नेपाल संस्कृत विश्वविद्यालयले बनाउन सकेको छैन । एउटा ओपिडि कक्ष पनि चलाउन नसक्ने नेसंविले फेरी विएएमएसको स्वीकृति पाउला ? आम विद्यार्थीहरुले यहिँ प्रश्न सोधिरहेका छन् ।
तालाबन्दी खुलाउने सवालमा विश्वविद्यालयका अधिकारीहरु कत्ति पनि गम्भीर छैनन् । तर बजेट मागेर आइएइ र डिपिआर मात्रै गर्न तल्लीन छन् । किनकि पदाधिकारीलाई डिपिआरको पैसा आउँछ, आइइइ र इआइएको पनि कमिशन आउँछ । तर काम भने हुन मुस्किल छ ।
एउटा संघीय माताहतको विश्वविद्यालयले आफ्नै पहलमा शिक्षण अस्पताल चलाउने पहल गर्नुपथ्यो । तर नेपाल संस्कृत विश्वविद्यालय पछिल्लो समयमा बाटो बिराएको छ । विश्वविद्यालयका पदाधिकारीहरु यो विषयलाई गम्भीर मान्दैनन् । किनकि उनीहरु पटके जागिरे हुन् । कसले कसलाई असफल बनाउने भन्ने बाहिर खोज्नु पर्दैन, पटके जागिरेहरुलाई धरापमा पार्न त्यहिकै प्राध्यापक कर्मचारी काफि छन् ।
तालझुण्डीका नामले प्रख्यात छ नेपाल संस्कृत विश्वविद्यालय । किनकि विश्वविद्यालयमा हुने हरेक तालाबन्दी जागिर खुवाउन र खाएकालाई प्रमोशन गरी उच्च अहोदामा लैजानका लागि मात्रै हो । विद्यार्थी आन्दोलनको पनि कुनै अर्थ छैन । किनकि विद्यार्थीहरुको माग आफु भर्ना भएको देखाएर दुई सय प्रतिशत छात्रवृत्ति बढाउने मात्रै हो । विएएमएस पढ्ने विद्यार्थीलाई प्राध्यापक नहुँदा विद्यार्थी आन्दोलन कहिल्यै देखिएन । बोटानिकल गार्डेनको पैसा फ्रिज हुँदा उनीहरुलाई कुनै विद्यार्थी नेतालाई आन्दोलन गर्नु परेन । प्राध्यापकहरुले अन्तै पढाइरहँदा कुनै आन्दोलन गर्नु परेन ।
‘हो हामीले विएएमएसलाई पहिलो प्राथमिकता दिनु पर्दछ, तर त्यसका लागि तालाबन्दी त खुल्नु पर्यो, यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं’, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव लामिछानेले भने । उनले यो विषयमा सबै सरोकारवालाहरुको ध्यान केन्द्रित हुनुपर्ने बताए । तर उनको बुझाइमा विश्वविद्यालयलाई समुन्नत बनाउने सन्दर्भमा स्व्यम जिल्लाबासीकै एकाकार धारणा छैन । रजिष्टार माधव अधिकारी पनि आफ्नै ढव्वामा छन् । ताला खोलाउने पहल भैरहेको र त्यसपछि मात्रै अन्य परियोजनाहरु चल्ने उनले बताएका छन् । विएएमएस चलाउनका लागि तत्काल ओपिडि सेवा चलाउने र मेडिकल कलेजका रुपमा एकीकृत अस्पताललाई निर्माण गरिने उनले बताए ।
विद्यार्थीहरुलाई शिक्षण अस्पताल बनाउन नसक्ने संघीय माताहतको विश्वविद्यालयका पदाधिकारीहरु फेरी प्रदेश सरकारको सहयोगमा एकीकृत आयुर्वेद अस्पताल निर्माणमा जुटिरहँदा कतै सर्रामा रहेको वाल अस्पताल जस्तै हुने होकि बेलझुण्डीको एकीकृत अस्पताल । अर्थात नेसंविमा विएएमएस बन्द भयो भने बेलझुण्डीको एकीकृत अस्पताल सर्राको वाल अस्पताल जस्तै हुनेछ ।
साक्षी खबरबाट


