आज एसईईको नतिजा प्रकाशित हुँदै, न्यूनतम ३५ अंक नल्याए फेल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा आज (बुधबार) सार्वजनिक गर्दैछ ।

कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले भने ‘हामी तयारीमा छौं । नतिजा बुधबार आउँछ ।’

कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका छन् ।

बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

न्यूनतम ३५ अंक नल्याए फेल

एसईईमा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् ।

निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ ।

मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस