काठमाडौं । प्रतिनिधि सभाले ‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सर्वसम्मत रुपमा पारित गरेको छ ।
२९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयक २ वैशाख २०७८ मा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर सभामा पेश गरेको थियो । जसलाई आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको हो ।
पारित विधेयक अनुसार कैदीबन्दीले बिहे र प्रजनन अधिकार प्राप्त गर्नेछन् । गर्भवती र सुत्केरीले जेलबाहिर बस्ने छुट प्राप्त गर्नेछन् । खुला कारागारको अवधारणालाई समेत यो विधेयकले समेटेको छ ।
‘कैदीबन्दी पनि नागरिक नै हुन् । उनीहरुले नागरिक अधिकार प्रयोग गर्न पाउनुपर्छ । यस सन्दर्भमा बिहे र प्रजनन्को अधिकार दिइएको हो’ आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले भने । उनका अनुसार कैदीबन्दीले विवाह चाहे त्यस्तो विवाहले कानुनी मान्यता पाउनेछ ।
‘कारागारमा बन्दीको रुपमा रहेका वैध दम्पतीको प्रजनन् अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिए बमोजिम भेटघाट गर्ने अनुमति दिनु पर्नेछ । प्रजनन् अधिकार संरक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ’ पारित विधेयकको दफा २३ मा उल्लेख छ ।
पारित विधेयकको दफा २८ मा कैदीबन्दीको बिवाह दर्ता सम्बन्धी व्यवस्था छ । ‘एउटै कारागारमा रहेका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्न चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिनु पर्नेछ ।
गर्भवती वा सुत्केरी बन्दीसम्बन्धी व्यवस्था दफा ३७ मा छ । जहाँ कारागार प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणको सम्बन्धमा विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
‘गर्भ रहेको छ महिना पूरा भएको गर्भवती बन्दीले आफू कारागार बाहिर बसी स्वास्थ्य उपचार गर्न चाहेमा कारागार प्रशासकले निज सुत्केरी भएको साठी दिन पूरा भएको भोलिपल्ट कारागारमा फर्कने गरी कागज गराई तोकिए बमोजिम बैंक जमानत लिई कारागारबाट बाहिर जाने अनुमति दिनु पर्नेछ’ दफा ३७(२)मा छ ।
जमानतमा छुटेकी गर्भवती बन्दी कारागार बाहिर रहे पनि कारागारभित्रै रहे सरह मानिनेछ । कारागार बाहिर रहेको अवधिलाई पनि बन्दीले कैद बसेको अवधिमा गणना गरिनेछ । कारागार बाहिर जान अनुमति दिइएको बन्दी कारागारमा फर्किए पछि उसले राखेको बैंक जमानत फुकुवा हुनेछ ।
जमानतमा छुटेकी गर्भवती बन्दी कारागारमा नफर्केमा कारागार प्रमुखले उसको बैंक जमानत जफत गरी सुरक्षाकर्मी खटाई कारागारमा उपस्थित गराउने अधिकार राख्दछन् ।