दाङमा साढे ३ वर्षीया बालिका बालात्कृत

दाङ । दाङमा साढे ३ वर्षीया बालिका बालात्कृत भएकी छन्।

अर्घाखाँची घर भएर दाङको बबई गाउँपालिका–४ खयरभट्टीस्थित मामाघर आएकी ती बालिकालाई स्थानीय १४ वर्षीया किशोरले शनिबार दिउँसो बालात्कार गरेका हुन् ।

पीडित बालिकाको नेपालगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

बलात्कारपछि किशोरले पीडित बालिकालाई बारीको डिलबाट करिब ४५ मिटर तल धकेलिदिएका कारण बालिकाको टाउकोमा चोटसमेत लागेको छ।

आफन्तले घटना शनिबार दिउँसो २ बजेतिर भएको बताए पनि प्रहरीलाई भने बेलुका ८ बजे मात्रै सूचना आएको डिएसपी अर्यालले बताए।

पीडित बालिकाको स्वास्थ्य चेकजाँच र प्रारम्भीक उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो त्यसपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको हो। डिएसपी अर्यालकाअनुसार पीडित बालिकाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ।

‘बलात्कारपछि बालिकाले कानमा लगाएको सुनका गहना पनि ती किशोरले लगेको देखिएको छ,’ डिएसपी अर्यालले भने, ‘त्यसपछि हत्या गर्ने उदेश्यले बालिकालाई मकैबारीको डिलबाट हुत्याइदिएको हुनसक्छ।’

बलात्कारमा संलग्न भनिएका ती बालक दिउँसो ती बालिकाको मामाघर आँप खान भनेर गएका थिए।

डिएसपी अर्यालका अनुसार बलात्कारमा संलग्न किशोर प्रहरी नियन्त्रणमा छन् र उनको बिगतको छवि पनि राम्रो देखिदैन। बराल्लिएर हिँड्ने उनी विगतमा चोरी गरेको अभियोगमा पक्राउ परेको प्रहरी रेकर्डबाट खुलेको डिएसपी अर्यालले बताए।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस