काठमाडौं । मंकीपक्स संक्रमण विश्वव्यापी रूपमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ । शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो।
बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको जनाएका छन् । अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा मंकीपक्सको संक्रमण देखिएको र पाँच जनाको मृत्यु भइसकेको छ।
डब्लूएचओले मंकीपक्स संसारका सबै क्षेत्रमा फैलिएको जनाएको छ। डा. टेड्रोसले भने, ‘डब्लूएचओको मूल्यांकनमा मंकीपक्सको जोखिम विश्वव्यापी रूपमा र मध्यम किसिमको छ। युरोपमा भने यसको जोखिम उच्च आंकलन गरिएको छ।’
स्वास्थ्य आपतकाल घोषणाले यसको संक्रमण फैलिनबाट रोक्न सहयोग पुग्ने उनको विश्वास छ। ‘यो एक प्रकोप हो। यसलाई सही रणनीति अपनाएर रोक्न सकिन्छ,’ उनले भने। मंकीपक्स सबभन्दा पहिले सन् १९५० मा मध्य–अफ्रिकामा देखिएको थियो।