काठमाडौं । अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि पहिचान भएको छ ।
धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ) मार्फत हेर्दा विभिन्न उपप्रजातिहरु देखिएका छन् ।
‘बीएफ.वान अहिलेसम्म नेपालमा देखिएको थिएन । तर, हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई रिपोर्टिङ गरेका छौं । ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ अहिलेसम्मकै संक्रामक मानिएको छ,’ अस्पताल स्रोतले भन्यो ।
स्रोतका अनुसार जिन सिक्वेन्सिङ गर्दा ८ वटा नमुनामा ओमिक्रोनका उपप्रजाति ‘बीए.फाइभ’ देखिएको छ ।
‘पछिल्लो समयमा संक्रमण बढ्नुमा ‘बीए.फाइभ’ कै हात रहेको छ । ‘बीए।फाइभको सबभरियन्ट ‘बीएफ.वान’ पुष्टि हुनुले थप चुनौति थपिदिएको छ,’ स्रोतले भन्यो ।
यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल संक्रमणदर १० प्रतिशतले नाघिसकेको छ । विज्ञका अनुसार यो कोरोनाको चौथो लहर हो ।