एक वर्षमा १५ सय ग्राहकको लाइन काटियो, ४२ ग्राहक कालो सुचिमा

तुलसीपुर । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले विद्युत महशुल नबुझाउने करिब १५ सय ग्राहकको लाइन काटेको छ । केन्द्रले सयमयै विद्युत महशुल नबुझाउने एक वर्षमा करिब १५ सय ग्राहकको लाइन काटेको हो ।

विद्यत लाइन काटिएका मध्ये धेरैजसोले बक्यौता रकम बुझाएपछि मात्र पुनः लाइन जोडिएको छ भने कति ग्राहकहरुले किस्तामा बक्यौता महशुल बुझाउँदै आएका छन् । गत आर्थिक वर्ष २०७८÷७९ मा समयमै विद्युत महशुल नबुझाउने १५ सय ग्राहको लाइन काटिँदा एक करोड ८९ लाख बक्यौता रकम उठेको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए ।  

यस्तै विद्युत महशुल ६ महिनासम्म नबुझाउने ग्राहकलाई नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरले कालो सुचिमा राखेको छ । केन्द्रले एक वर्षमा ६ महिनासम्म महशुल नबुझाउने ४२ ग्राहकलाई कालो सूचिमा राखेको हो ।

गएको असार मसान्तसम्ममा विद्युत महशुल नबुझाउने ४२ ग्राहक कालो सूचिमा परेका छन् । ती मध्ये पाँच ग्राहकले किस्तामा महशुल बुझाइरहेको प्रमुख फर्सालले जानकारी दिए ।

अझै पनि ३२ सय ग्राहको लाईन काट्न बाँकी रहेको प्रमुख फर्सालले जानकारी दिए । असार मसान्तसम्म तीन करोड ४५ लाख रकम उठ्न बाँकी देखिएको प्रमुख फर्सालले जानकारी दिए । साउन १ गतेदेखि बाँकी बक्यौता उठाउँन सुरु भइसकेको उनले बताए ।  

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले तुलसीपुर उपमहानगरपालिकासहित, शान्तिनगर, दंगीशरण र बबइ गाउँपालिकामा क्षेत्रमा विद्युत वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस